Bhutan News Network

News That Matters

Education

उमेरले पढ्न छेक्तैन

अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने भुटानी समुदायका करिब ३० जना वयस्कहरुले आफू पढिरहेको कक्षामा एक स्वरमा भने ‘हामीलाई पढ्न उमेरले छेकेन’ । उनीहरु अहिले बडो उत्साहका साथ अङ्ग्रेजी भाषा सिकिरहेका छन्। ब्ल्याकटाउनस्थित एम.टि सीको भवनमा प्रत्येक हप्ताको शनिबार बिहान ९ देखि १२ बजेसम्म तीन घन्टाको कक्षा सञ्चालन हुँदै आएको छ। गत शनिबारको भाषा कक्षामा सहभागी शिक्षार्थीहरु ६५ वर्षसम्मकाले पढिरहेको देखिन्थ्यो ।

नेपालको शरणार्थी शिविरमा रहँदा पढ्ने मन भएर पनि विभिन्न समस्या तथा सकारात्मक वातावरण नभइदिएकाले सिक्ने आकाङ्क्षा अधुरो रहेको अङ्ग्रेजी भाषा सिकारुहरुको गुनासो छ , तर अस्ट्रेलिया आएबाट अङ्ग्रेजी सिक्ने अवसर प्राप्त भइरहेकाले अहिले भने उनीहरु सिक्न उत्साहित देखिन्छन्। कक्षाभित्र समूह बाँधिएर हँस्यौली तरिकाले शब्द मिलाउँदै वाक्य संयोजन गरी अभिनयात्मक तरिकाले सिकाइ गरिहरेको पनि देखिन्थ्यो।

न्यु साउथ वेल्स प्रान्तभित्र माइग्रेन्टहरुलाई आएबाट नै अङ्ग्रेजी सिक्न सरकारबाट प्रेरित गरिएको छ , त्यसपछि विषयगत ज्ञान तथा भाषिक क्षमताअनुरुप विश्वविद्यालयको पढाइतर्फ लाग्न सकिन्छ। सामान्य विषय अध्येताका निम्ति कि त टेफमा सीपमूलक तालिमका निम्ति भर्ना हुन प्रेरित गरिएको छ कि त सामान्य सीपको काम खोजी गर्न मार्ग निर्देशन गरिएको छ। विगतमा स्कुलनै नगएका र आफ्नो मातृभाषाको साउँ अक्षर समेत नचिनेकाहरुलाई एकैचोटि सरकारले सञ्चालन गरेको अङ्ग्रेजी कक्षामा सामेल हुनुपर्दा निकै अप्ठ्यारो महसुस हुनुका साथै अन्य समुदायका सहपाठीसँग कक्षामा आफ्नो पढाइको तह मिल्न गाह्रो भएको कुरा समेत भुटानी वयस्कहरु बताउँछन्।

अस्ट्रेलियामा जो कसैलाई पनि सामान्य अङ्ग्रेजी संवाद सबै क्षेत्रमा चाहिने हुनाले नै यो अङ्ग्रेजी भाषा कक्षाको अनिवार्यता र उपयोगिता दुबै छ। भुटानी समुदायका केही अङ्ग्रेजी सिकारुलाई भने साउँअक्षरबाट नै भाषा शिक्षण सुरु गरिएको र उनीहरुलाई सर्वप्रथम मेहनत गरे पढ्न आउँछ, पढ्नु पर्छ र पढेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास गजाउने उद्देश्यले नै विगत दुई वर्षदेखि एबिए सिड्नी र एम.टि सीको सहकार्यमा निरन्तर भाषा कक्षा सञ्चालन हुँदै आएको कुरा एबिए सिड्नीका सल्लाहकार तथा निर्देशक श्री ओम ढुङ्गेलले बताउनु भएको छ।

ढुङ्गेलले अगाडि भन्नुभयो ‘विगतमा कुनै पनि विषय पढ्दै नपढेका र वर्तमानमा पढेर केही गर्छु भन्ने इच्छा भएकाहरुलाई नै उक्त कक्षा सञ्चालनमा ल्याइएको हो, अनि अस्ट्रेलियामा रहँदा हाम्रा भुटानी समुदायका सदस्यहरुलाई सामान्य अङ्ग्रेजी बोलचालमा समस्या नआओस् तथा यहाँका अन्य समुदायसँग भाषिक ऐक्यवद्धता रहोस् भन्ने उद्देश्यले नै कक्षा सुरु गरिएको हो ।‘

भाषा कक्षामा सहभागी श्रीमती दमन्ता काफ्ले (अधिकारी) भन्छिन् ‘मेरो मातृभाषा नेपाली हो, बोल्न त सक्छु तर लेख्न भने आउँदैन किनकि भुटानमा छँदा पारिवारिक वा सामाजिक कारणले पढ्न पाईंन र नेपालमा १८ वर्षे शरणार्थी जीवनमा पढ्ने अवसर नै मिलेन, तर अहिले अस्ट्रेलियामा करिब २ वर्षदेखि म अङ्ग्रेजी सिक्तैछु , केही बोल्न र सामान्य लेख्न जान्न थालेँ, यो मेरा निम्ति धेरै खुसीको कुरा हो, कार्यालय, अस्पताल र अन्य बजारमा परिआउने आफ्ना कार्य म सामान्य तरिकाले गर्न थालेकी छु’ ।

पदम काफ्ले, सिड्नी

Leave a Reply

Your email address will not be published. Required fields are marked *