Bhutan News Network

News That Matters

Politics

बुढेसकालमा सम्बन्धविच्छेद बढ्दो

चेतन अधिकारी

Manorath Nepal. Photo: Kantipur
Manorath Nepal. Photo: Kantipur

बेलडाँगी (झापा), चैत्र २६ – जीर्ण भइसकेका छाप्रा । त्यसमा जीवनको उत्तरार्द्धतिर पुगेका एक वृद्ध । ५ वर्षकी छोरी गाउँ घुम्न गइन् । १५ वर्षका छोरा कता लागे थाहा छैन । बुढेसकालको सहारा श्रीमतीले सम्बन्धविच्छेद गरिन् । आफन्त सबै अमेरिका पुनर्वास भइसके । भुटानबाट खेदिएको २२ वर्ष बित्यो । जीवनमा आस मरेको छैन । सात समुद्रपार पुगिछाड्ने इच्छाले जीवनसंगिनीसँग सम्बन्धविच्छेद गर्दा उनलाई रत्तिभर पछुतो छैन ।

दुई साताअघि ७३ वर्षको उमेरमा सम्बन्धविच्छेद गरेर एक्लै बसेका मनोरथ नेपाल खासमा ‘भुटानमै मर्न’ चाहन्थे । शरणार्थी भएको यत्रो वर्ष भइसक्दा पनि मातृभूमि फकर्ने संकेत नपाएपछि आफन्तको गोहोे पहिल्याउँदै नेपालले अमेरिका पुनर्वास जाने निधो गरे ।

पुजारी भएर हिंड्दै गर्दा मोरङको मधुमल्लामा भेटिएकी देवकीलाई जेठको गर्मीमा कांक्राको चिरो दिएर फकाएका थिए उनले । सम्बन्धविच्छेद गरिसकेकी देवकी भन्छिन्, ‘मलाई मधुमल्ला बजारमा कांक्रो दिएर फकाएका थिए । अहिले अमेरिका नगई सक्दिनँ भन्न थाले । मलाई जान मनै छैन । त्यही भएर छोडपत्र गरियो ।’

राम्ररी कान सुन्न पनि नसक्ने नेपाल सम्बन्धविच्छेद गरेपछि अमेरिका जाने बाटो खुलेकामा दंग छन् । ‘देवकीलाई सँगै जाऊँ भनेँ, मानिन । उसँग छोडपत्र मागें । अब छोराछोरी लिएर कुइरेका देश जान्छु,’ बेलडाँगी २ सेक्टर जी ४ छाप्रो नम्बर १०७ रुंघेर बसेका नेपालले भने ।

नेपाली समाजलाई अनौठो लाग्ने सम्बन्धविच्छेद शब्द अहिले अभ्यस्त त भइसक्यो तर ६० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धाले छोडपत्र गरिरहेका छन् भन्दाचाहिं अनौठै लाग्छ । तर यो क्रम धाराप्रवाह चलिरहेको छ । राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगले शरणार्थीलाई तेस्रो देश पुनर्वासमा लगेको ७ वर्ष हुँदै गर्दा शिविरमा एउटा नयाँ अवस्था देखिएको छ ।

त्यो हो- वृद्धावस्थाको सम्बन्धविच्छेद । बेलडांगी ३ (विस्तारित) सेक्टर ए वान छाप्रा नम्बर ३० की सनमाया तामाङ ६० वर्षकी भइन् । आफ्ना ६४ वर्षे श्रीमान् सुकवीरसँग सम्बन्धविच्छेद गर्न ६ महिनादेखि अदालत धाइरहेकी छन् । ‘बूढाले कान्छी लिएर हिंडे । तर पनि उनीसँग सम्बन्धविच्छेद नगरी मैले अमेरिका जाने बाटो पाइनँ । त्यही भएर बुढेसकालमा कहिल्यै नचिताएको काम गर्न लागेँ,’ तामाङले भनिन् ।

बेलडांगी २ सेक्टर आई ४ छाप्रा नम्बर १/२ की ६१ वर्षीया ठगिमाया राईका हातमा त जिल्ला अदालत झापाले दिएको छोडपत्र परिसक्यो । ४१ वर्षअघि भुटानकै सर्वाङ्ग जिल्ला कागते गाउँका भीमबहादुर राईसँग लगनगाँठो कसेकी ठगिमायाले जीवनको सहारा भर्खरै छिनाइन्, अमेरिका जाने उत्कट अभिलाशाले । ‘उसलाई रुँघेर बस्दा एमि्रका जान नपाइने भयो । ऊ जानै नमान्ने । मचाहिँ छोराछोरीको पछि लागेर उत्तै जाने हो,’ अदालतले दिएको सम्बन्धविच्छेदको कागज देखाउँदै राईले भनिन् ।

बेलडांगी शिविर २ की लैंगिक प्रवक्ता देवी भुजेलका अनुसार पुनर्वास कार्यक्रमका सुरुवाती वर्षमा शिविरमा जसरी बालविवाहको प्रचलन बढेको थियो, त्यसको विपरीत पुनर्वासको अन्त्यतिर आइपुग्दा वृद्धावस्थाको सम्बन्धविच्छेद बढ्दो छ । ‘युवा अवस्थाको सम्बन्धविच्छेदका लागि निवेदन त आइनै रहेका छन् । तर केही समययता वृद्धावस्थाको सम्बन्धविच्छेद ह्वात्तै बढेको छ,’ भुजेलले भनिन् ।

किन हुन्छ अन्तर्राष्ट्रिय कानुनले एउटा श्रीमान्की एक मात्र श्रीमतीलाई मान्यता दिन्छ । तर शिविरमा बहुपत्नीधारी शरणार्थीको संख्या उल्लेख्य छ । यसले गर्दा उनीहरूको पुनर्वास प्रक्रिया अवरुद्ध छ । भुटान र्फकन नपाइने भएपछि तेस्रो देश जान चाहने शरणार्थी अधिक छन् । जस्ाका दुइटी श्रीमती छन्, उनीहरूको आवेदन नै यूएनएचसीआरले दर्ता गरेको छैन । त्यसले गर्दा छोडपत्र गर्नुको विकल्प नरहेको शरणार्थी बताउँछन् ।

अर्कातिर कतिपय श्रीमान् श्रीमतीको पुनर्वासका विषयमा कुरा मिलेको छैन । जस्तै ७३ वर्षे मनोरथ र ४३ वर्षे देवकीको कुरा नमिलेपछि सम्बन्धविच्छेदको निर्णयमा पुगे । ‘श्रीमान् जान चाहने, श्रीमती नचाहने,’ बेलडांगी शिविरका सचिव सञ्चहाङ सुब्बा भन्छन्, ‘यस्तो अवस्थामा सम्बन्धविच्छेद गरेर जानेबित्तिकै यूएनले स्विकार्ने भएकाले सम्बन्धविच्छेद ह्वात्तै बढेको हो ।’ कतिपय अवस्थामा यूएनएचसीआरले नै सम्बन्धविच्छेदको बाटो देखाइदिने गरेको शरणार्थी बताउँछन् ।

भुटानी शरणार्थीको लैंगिक मुद्दामा वकालत गरिरहेकी अधिवक्ता देवी निरौलाका अनुसार अघिल्ला वर्षहरूमा बूढाबूढी यस्ता मुद्दा लिएर खास आउँदैनथे । विगत छ महिनायता अस्ताउँदो उमेरका दम्पती बिछोडको निवेदन लिएर आउने क्रम बढेको छ ।

‘पुनर्वास हुने देशले बहुपत्नीधारी पुरुष र बहुपतिधारी महिलालाई नस्विकारेेको भन्दै बुढ्यौलीमा छोडपत्र गर्न आएको देखिन्छ,’ निरौलाले भनिन् ।

यूएनएचसीआरले दम्पतीलाई सम्बन्धविच्छेद गराउन जोड नगरेको जनाएको छ । यूएनएचसीआरकी सहायक बाह्य सम्बन्ध अधिकृत निनी गुरुङका अनुसार बहुबविवाह गर्नु अन्तर्राष्ट्रिय रूपमै पुरुषले महिलामाथि गरेको हिंसाका रूपमा परिचित छ । तर पनि आफूहरूले कुनै पनि शरणार्थीलाई सम्बन्धविच्छेद गर्न प्रेरित नगरेको उनले बताइन् ।

Kantipur daily 9 April 2014

Leave a Reply

Your email address will not be published. Required fields are marked *