Bhutan News Network

News That Matters

Legal

भूटानी शरणार्थीलाई नर्वेमा आपत

छोरी धनेश्वरी र छोरा दीपकका साथ नर्वेमा रहेकी टीका थापा।
छोरी धनेश्वरी र छोरा दीपकका साथ नर्वेमा रहेकी टीका थापा।

गोपाल गडतौला, झापा
सुखी र सम्पन्न भविष्यको आशा गरेर दुई छोराछोरीसाथ पाँच वर्षअघि उत्तरी यूरोपको नर्वे पुनर्वास गएकी भूटानी शरणार्थी टीका थापा (४०) अहिले आपतमा परेकी छन्। किर्ते कागज बनाएर जालसाजी गरेको अभियोग उनलाई लागेको छ।

आपतको कारण
झापाको खुदुनावारी शिविरको सेक्टर डी ३ को ३५ नम्बर छाप्रोमा रहँदा २ अगष्ट सन् १९९८ मा सर्पले टोकेपछि पति चन्द्रकुमार थापाको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार गर्दागर्दै भोलिपल्ट मृत्यु भयो। सो घटना खुल्ने कागजात र शव अस्पतालले परिवारलाई दिएको थियो।

सरकारको शरणार्थी समन्वय एकाई (आरसीयु) ले दिएको थापा परिवारको शरणार्थी गणना कागजात ‘सेन्सस स्लिप’ मा भने परिवारका सदस्यहरूको विवरणमा रातो मसीले केरेर चन्द्रको निधन मिति २ अगस्ट १९९८ लेखिएको छ। शिविरमै निधन भएकी चन्द्रकी आमा शान्तकुमारी थापा (६०) बारे नर्वे पुनर्वासको लागि कागजात तयार पार्दा आरसीयुले लगबुकका अनुसार भन्दै २ जुलाई १९९९ मा निधन भएको कागजात दियो। जसमा त्यो वेला खुदुनाबारी शिविरका आरसीयु सुपरीवेक्षक ज्योति दाहालको हस्ताक्षर छ।

ती कागजात लिएर नर्वे पुगेका टीका, छोरी धनेश्वरी (२२) र छोरा दीपक (२०) लाई नर्वेको भाद्सोका प्रहरीले किर्ते कागजातको भरमा सुविधा लिएको आरोप लगायो। अहिले प्रहरीले उनलाई ४१ लाख २५ हजार ४२८ क्रोनर (रु.६ करोड ६० लाख ६ हजार ८४८) जरिवाना, नेपाल फिर्ता वा दुई वर्ष जेल सजाय हुने गरी अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ। यो प्रकरणपछि उनलाई दिइएको सुविधा कटौती गर्दै पूरा समय काम गर्न पनि रोक लगाइएको छ। त्यही कारण तनावमा रहेकी टीकाको हेरचाह गर्नु परेकाले छोराछोरीको पढाइ पनि बिग्रिएको छ।

‘मेरो गल्ती छैन’
दुई वर्षदेखि नवीकरण नभएको टीकाको पास र यात्रा अनुमति कागजात प्रशासनले लिएको अहिले नर्वेको आल्टामा रहेका खुदुनावारी शिविरमा छँदाका टीकाका छिमेकी रामबहादुर बानियाँले हिमाल लाई बताए। स्थानीय अदालतमा उनको पछिल्लो पेशी ३० फागुनमा थियो। प्रहरी अनुसन्धान जारी रहेकाले पेशीको अर्को मिति तोकिएको छैन।

norway case२३ वैशाखमा हिमाल संवाददातासँग कुरा गर्दै टीकाले त्यहाँका मानिसले कागजात मात्र हेर्ने गरेको बताइन्। उनले भनिन्, “मैले केही गल्ती नगरे पनि बिरानो ठाउँमा कुरा बुझाउन नसकेकाले समस्यामा परें।”

प्रहरीले उनलाई निर्दोष प्रमाणित गर्न र पतिको एउटै मृत्यु मिति भएको कागजात पेश गर्न दबाब दिएको छ। यस विषयमा झापा चन्द्रगढीमा रहेका आरसीयु तथ्यांक प्रमुख निर्मल खनाल टीकाले मागेमा सबै कागजात उपलब्ध गराउने बताउँछन्। उनी टीकाले पहिले कागजात लिंदा कमजोरी भए/नभएको नहेर्नु गलत भएको धारणा राख्छन्।

नर्वेली प्रहरीले पनि उनको कागजातबारे गहिरो अनुसन्धान गरिरहेको टीका बताउँछिन्। गत साल नर्वेका जालसाज सम्बन्धी अनुसन्धान अधिकारीहरूले टीका चन्द्रकुमारकी पत्नी हुन् वा होइनन् भनेर कूटनीतिक नियोग मार्फत भूटानी अधिकारीहरूलाई रेकर्ड हेर्न पनि लगाएका थिए। तर, भूटानी अधिकारीहरूले भूटानमा उनीहरू विवाहित रहेको रेकर्ड नभएको बताएपछि नर्वे प्रहरीलाई थप शंका बढाएको टीका बताउँछिन्।

उनका अनुसार, उनी र चन्द्रकुमारबीच २ जनवरी १९९० मा साम्ड्रूपजोंखर जिल्लाबाट अदालती विवाह भएको थियो। (हे. विवाह दर्ता) राजनीतिक र जातीय कारणले खेदेको भूटानी सरकारले सही सूचना नदिएर आफूलाई थप अप्ठ्यारो पारेको उनको भनाइ छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *