सनातनी संस्कृतिमा काजकिरिया
डा. तारानाथ शर्मा

यता केही दिनदेखि हाम्रो ‘अन्नपूर्ण पोस्ट्’ दैनिकमा बाहुनछेत्री वा वैदिक सनातनी संस्कृति मान्ने अरूअरूले समेत आफ्ना मातापिताको मृत्यु भएमा कति दिनसम्म किरिया बस्ने वा कस्ताकस्ता नियमहरू पालन गर्ने भन्ने विषयमा निकै चर्चा चलेको पढ्न पाइन्छ। यस्ता चर्चा विशेष गरी धार्मिक ग्रन्थहरूको उल्लेख गर्दै वा चलनचल्नीका कुराहरूलाई बखान्दै गरिएका छन्। त्यस्ता दृष्टान्त अघि सारिएका ग्रन्थहरूमा भारतको काशीबाट विक्रमाब्द १८४७ मा प्रकाशित काशीनाथ उपाध्यायको ‘धर्मसिन्धु’ र काशीबाटै विक्रमाब्द १९६८ मा छापिएको कमलाकर भट्टको ‘निर्णयसिन्धु’ हुन्। ती दुवै नितान्त व्यक्तिगत धारणामात्र हुन्, वेदैबाट सार खिचेर निकालेका शास्त्रीय प्रमाण वा मान्नैपर्ने तथ्य होइनन्।
टपरे बाहुनहरूले आफ्नो आम्दानी अभूतपूर्व रूपले सपार्ने अनेकौँ उपायहरू निकाली हाम्रो जस्तो अपठित र धर्मान्ध समाजको तीव्र शोषण गर्दै आउँदा यस्तै टापटिपे पुस्तकहरूको उदाहरण लाजैबिना सगर्व दिने गरेका छन्।
हेर्नोस् न ! काठमाडौँस्थित हाम्रा राष्ट्रिय देवता आशुतोष किराँतेश्वर महादेवको मन्दिर पशुपतिनाथमा प्रयुक्त मूल पुरोहितको घुर्की ! उसलाई महिनाको दस लाख रुपियाँ दिनुपर्ने रे !! किन? एकातिर त विदेश हिन्दुस्तानबाट त्यस्ता लोभीलाई झिकाई हाम्रा पशुपतिनाथ बाबाको मूल पुरोहित पदमा नियुक्ति गर्ने चलन नै अनुपयुक्त थियो, किनभने यसै पवित्र देवभूमिमा वैदिक संस्कारमा हुर्केका र उच्च अध्ययन गरी विशुद्ध नियममा जीवन बिताउने यथेष्ट ब्राह्मण विद्वान्हरू हुँदाहुँदै त्यस भट्टलाई बाहिरबाट मगाउनु नै अराष्ट्रिय कृत्य हो। तपाईँहरूलाई थाहा छ कि छैन, ती भट्टहरूले दक्षिण भारतमा हाम्रै पशुपतिनाथ बाबाकहाँ कमाएको अकुत सम्पत्ति लगेर पाँचतारे होटलहरू मस्तसित चलाउँदै आएका छन्।
पाँचछ वर्षजति अघि अमेरिकाबाट फर्केपछि एक बिहान म र मेरी जीवनसँगिनी शान्ता पशुपतिनाथ बाबाको दर्शन गर्न दक्षिण ढोकामा उभिएका थियौँ। त्यहाँ ठूलै हूल थियो जसमा एउटी निकै पाको उमेरकी मेरी आमाको झझल्को दिने वृद्धा पनि छेउमा अँध्यारो मुख लगाएर उभिएकी थिइन्। मेरी जीवनसँगिनीले पूजाका सामानसहित सय रुपियाँका दुईतीन नोट पनि राखेकीले अरू सारा दर्शनार्थीको वास्तै नगरी भट्टले हामी दुवैलाई स्नेह र श्रद्धा देखाउँदै आफैँ टीका पनि लगाइदियो र माला लगाइदिएर प्रसाद पनि टक्र्यायो। ती आदरणीय आमाले आँखाभरि आँसु पारेर हात जोड्दै ‘म घन्टौँदेखि यहीँ उभिएर पर्खिरहेकी छु, टाढाबाट आएकी। टीका र फूल नपुगे पनि जलले सेचनसम्म त गरिपाऊँ न !’ भनेर सविनय प्रार्थना गर्दा त्यस भट्टले त सन्कँदै एक लोहोटा पानी ती पवित्र हृदया नेपाली माताको मुखमा झ्वाम्म फाल्दा मेरो त मस्तिष्कदेखि पैतालासम्म घृणाको अग्नि धपक्क बल्यो। मेरी धर्मपत्नीका सयका नोटहरूलाई बढी महत्त्व दिँदै आदरणीया माताप्रतिको त्यस्तो तुच्छ व्यवहार देखेर म त्यसपछि पशुपतिनाथको मन्दिर जानै छाडिदिएँ।
पूजापाठ र जप गर्न मन्दिर जानैपर्ने वा लोभी भट्ट र टपरे पुजारीहरूलाई नोटहरूले प्रसन्न तुल्याउनैपर्ने कुरो धार्मिक आस्थाभित्र जसरी पर्दैन उसरी नै १३/१३ दिनसम्म कसैले छुन नपाउने ठाउँमा बिनाकाम कोचिएर नून, माछामासु वा अरू स्वादिला वस्तु नखाँदैमा वा स्वर्गीय भएका मातापितालाई विशेष गरी दूधमा उमालेको चामलमा केरा मिसाएर बनाएको पिण्ड बाहिर लगेर चढाउँदैमा धार्मिक कर्तव्य पूर्ण गरिएको मान्नु अन्धविश्वास मात्र हो, एकातिर १३/१३ दिनसम्म मातापिताको निधन भएपछि सारा व्यावहारिक कामधन्दा त्यागेर पूरै पन्छाई जूठो बार्ने चलन चारै वेदमध्ये कुनैमा पनि उल्लेख गरिएको छैन, न त ती तेह्र दिन किरियापुत्री भएर बस्ता सुनाउने गरिएको गरुडपुराणकै पनि तिनमा कतै सूचना, वर्णन वा व्याख्या पाइन्छ। इतिहासको अध्ययन गर्दा गरुडपुराण यजमान ठग्ने कुनै छट्टु टपरे बाहुनले कनीकुथी रचना गरेको यही तीनचार सय वर्ष पनि राम्ररी बितेको छैन। त्यस बाहुनले किरियापुत्री बसेर कहर नकाट्ने र गरुडपुराण लगाएर टपरे बाहुनहरूलाई नपोस्ने व्यक्तिलाई यमराजका दूतहरूले झ्याल्टुङ पार्दै लगेर दन्दन आगो बालिएको अँगेनामाथि बसालिएको भाँडाभित्र भकभकी उम्लेको तेलमा पकाएर सजाय दिएको दृश्य कहाँ र कहिले देखेछ? जसरीतसरी तर्साएर र त्रासमा चुर्लुम्म डुबाएर पैसा र सामान कुम्ल्याउने यस्ता कुपठित दुष्ट बाहुनहरूले गर्दा नै हाम्रा धार्मिक भनिएका कृत्यहरू यसरी भाँडिएका र हास्यास्पद हुन पुगेका हुन्।
हो, आफ्ना पूजनीय मातापिताले हामीलाई यस लोकमा एक्कासि छाडेर जाँदा हामी स्वाभाविक रूपले मर्माहत हुन्छौँ, तर आफू बाँचुन्जेल आफ्ना सन्ततीले मीठो खाऊन्, राम्रो लाऊन् र रमाइलो जीवन बाँचून् भनेर रातदिन चिताउने ती आदरणीय जन्मदाताहरूले उनीहरूको देहान्त हुनेबित्तिकै तिनले नूनसमेत छाडेर खल्लो र निस्तो भात खाऊन् भनेर कहिल्यै चिताउँदैनन्। खालि यस्तो स्थितिमा छोराबुहारीहरू र भाइभतिजा-नातिहरूले आफ्ना आदरणीय अग्रजहरूसितको बिछोडको पीडामा आफैँ मीठा र स्वादिला माछामासु र अरू परिकारहरू नखाई सम्झना गर्ने चलन भने असाध्यै राम्रो मान्नुपर्छ। तर, यसलाई काजकिरियाका रूपमा नलिई र धार्मिक धारणाका रूपमा नहेरी वियोगव्यथाको अवस्थामा अरुचि भएको मान्नुपर्छ।
त्यसै हुनाले १३/१३ दिनको स्वाङे किरिया गर्दै छु भनेर नून, माछामासु र स्वादिला परिकारहरू त्याग्दै दिनहुँ टपरे बाहुनहरू बोलाई तिनलाई सिदा, भोजन र दक्षिणाले मालामाल गर्नु अत्यन्त निकृष्ट प्रथा हो। वियोगवेदना मनाउन तीन दिन भए पुग्छ, तर ती तीन दिनमा पनि नूनै छाड्नुपर्ने अथवा एक छाकै छाडेर भोकै पिल्सिनुपर्ने वा अरू साथीभाइ, इष्टमित्रहरूलाई छुनै नहुने भन्ने कुप्रथाबाट हामीले तुरुन्त मुक्ति पाउनु नै सभ्यता हो, मर्यादा हो।
न त छाक छाड्नाले, न नूनै छाड्नाले आफ्ना मान्य मृत व्यक्तिहरूलाई कुनै लाभ हुन्छ, न त्यस्तो निकृष्ट चलनले टपरे बाहुनहरूबाहेक अरू कसैको भलो नै हुन्छ। यस प्रसंगमा दुई कुरा लेख्नु उचित मान्छु। हो, १३ दिनलाई घटाएर तीन दिन पार्नु समयको सदुपयोग पनि हो र आधुनिक व्यस्त समाजमा सुहाउने कुरो पनि हो। त्यसका साथै हाम्रा केही पश्चिमा बाहुनहरू सिँधे नूनको निर्धक्क प्रयोग गर्छन्, जो साह्रै उत्तम कुरो हो। समुद्रमा पाइने हामीले दिनहुँ प्रयोग गर्ने नूनमा समुद्रका पानीमा भएका अनेकौँ अस्वस्थकर तत्त्वहरूको मिश्रण हुने हुँदा त्यसलाई किरियापुत्री बस्ता त्यागिएको होला, तर सिँधे नून त पहराको ढुङ्गो हो र त्यो त पक्कै पनि चोखो हुन्छ। सिँधे नून त्यसैले सबैमा सधैँ नै स्वीकार्य हुनुपर्छ। अनि तीन दिन मनाइने काजमा पनि टपरे बाहुन पोस्ने प्रथा अन्त्य गरी साँच्चै नै शोक मनाउन आफ्ना मृतहरूको स्मरण गर्ने, उनीहरूका राम्रा गुणहरूको व्याख्या गर्ने र उनका नाममा वृद्धाश्रम, विद्यालय, पुस्तकालय वा अरू सामाजिक सेवाका संस्था र कार्यहरूलाई आर्थिक र अरू प्रकारका सेवाहरू गर्ने गरेमा तिनको उचित सम्मान हुन्छ। मातापिताका नाममा बहुसङ्ख्यक छिमेकीहरूको, देशवासीहरूको वा सम्पूर्ण मानवकै भलाइ हुने शिक्षा, स्वास्थ्य वा अरू सामाजिक क्षेत्रमा सेवा पुग्ने रूपले खर्च गर्नु महान् कार्य हो।
१३ दिन मात्रै कहाँ र? वर्षभरि सेता लुगा लगाएर ‘बरखी बार्ने’ भन्दै कठोर जीवन बिताउने हाँसउठ्तो चलन पनि हामीमा छँदैछ। म छसात वर्षको बालक छँदा एक्कासि त्यति बेलाका शासक जुद्धशमशेर राणाले ‘अबदेखि मातापिताको मृत्युपछि बरखी बार्नेहरूले सेतो लुगा लगाउने प्रथालाई हटाउनुपर्छ’ भनी उर्दी गरे। मेरा पिताले मलाई ‘ठीकै गरे, र तैँले वा तेरा भाइहरूले मेरो र तिमीहरूकी आमाको देहान्त हुँदा बरखी बार्दै वर्षभरि सेतो लुगा लगाउनु पर्दैन, यस्तो सेतो लुगा लगाउने कुरो वेदमा कहीँ पनि वर्णन गरिएको छैन’ भन्नुभएको थियो। अनि हामीले बाआमाको देहान्त भएपछि १३ दिने काजकिरिया पुरानै पद्धतिले गरे पनि वर्ष दिनभरि सेतो लुगा लगाउने चलनलाई भने तिलाञ्जलि दियौँ। केही वर्षअघि लमजुङमा जन्मेकी लेखिका पुष्पलता आचार्यले पनि आफ्ना पतिको देहावसानपछि अरू विधवाले लगाएझैँ सेता लुगा नलगाई सामान्य नारीले लगाउने विभिन्न रङका लुगाहरू लगाउँदै आएको देखिन्छ। यसरी नै हाम्रा सचेत र शिक्षित नागरिकहरूले परिवारका मान्यजनको देहान्त हुँदा अबदेखि तीन दिन मात्र शिष्ट तरिकाले शोक मनाउने र बरखी नबार्ने चलन समयको मागअनुसार चलाउनुपर्छ भन्ने मेरो प्रबल धारणा छ।