बेलायतमा भूटानीबीच एकता र सद्भाब राख्न कार्यक्रम
पुनर्वासमा बेलायत पुगेका भुटानी शरणार्थीहरुको संस्था भुटान वेलफेएर एसोसियसनले समुन्नत समाज निर्माणमा महिलाको सहभागिता सम्बन्धि कार्यक्रमको आयोजना गरेको छ।
बेलायतको म्यानचेष्टरमा रहेको आष्टन अन्डरलाइन भन्ने स्थानमा कार्यक्रम आयोजना गरिएको हो। पुनर्वासमा पुगेका भूटानीबीच एकता र सद्भाव कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका कार्यक्रम निर्देशक प्रेम गिरीले बताए।
उनका अनुसार पुनर्वासमा पुगेका शरणार्थी महिलाहरुले तेश्रो मुलुकमा पुगेपछि भोग्नुपरेको समस्याहरु, त्यस्ता समस्या समाधानको लागि सामूहिक रुपमा गर्नुपर्ने पहल लगायतका विषयमा छलफल भएको थियो।
छलफलमा समाज विकासमा महिलाहरुको भूमिका महत्वपूर्ण हुने विषयमा सहभागीहरुले बताएका थिए। महिलाको सशक्तिकरण विना कुनै पनि समाजलाइ विकासको गतिमा लैजान नसकिने कार्यक्रमका अन्य वक्ताहरुले बताएका थिए।
कार्यक्रमका अध्यक्ष दुर्गा गिरी, सदस्यहरु तारा निरौला, डा.शुरेस चुवान र याम खड्काले बेलायतमा रहेको भुटानी शरणार्थीको समस्या र उनीहरुले भविष्यमा खेल्नुपर्ने भूमिकाबारे आफ्नो धारणा राखेका थिए।