Bhutan News Network

News That Matters

EconomyTop News

नेपाली हस्तकलाले महारानीको ध्यान खिच्यो

भुटान अन्तर्राष्ट्रिय व्यापार मेलाका क्रममा नेपाली स्टलमा मूर्ति हेर्दै भुटानी।
भुटान अन्तर्राष्ट्रिय व्यापार मेलाका क्रममा नेपाली स्टलमा मूर्ति हेर्दै भुटानी।

छैटौं भुटान अन्तर्राष्ट्रिय व्यापार मेलामा प्रदर्शनी तथा बिक्रीमा राखिएका नेपाली हस्तकला सामग्रीले स्वदेशी तथा विदेशीको निकै ध्यान तानेको छ।

आइतबार भुटानी महारानीलगायत राजपरिवारका सदस्यहरूले नेपाली हस्तकलाको अवलोकन गरे। २ सय १५ स्टलमध्ये लत्ताकपडा, जुत्ता, इलेक्ट्रोनिक्स सामान, छालाबाट बनेका ज्याकेट, ब्याग, पर्स, बेल्टलगायत आकर्षक स्टल थिए। तर नेपाली कलाकृतिले भरिपूर्ण भुटानी राजा स्याम्पेन, भुटानका गुरुका मूर्तिलगायत बुद्ध, पद्यसम्वत, सहस्रभुज लोकेश्वर (हजार हात भएको लोकेश्वर), मञ्जुश्री लगायतको मूर्तिले ध्यान तानेको हो।

मेलामा भारतपछि सबैभन्दा बढी नेपालीका ६९ स्टल छन्। ३५ स्टल मूर्तिजन्य हस्तकलाका सामग्रीहरू प्रदर्शन तथा बिक्रीमा राखिएको छ। हस्तकलाका स्टल राख्नेमा सबैभन्दा बढी पाटनका ओकुवहाल, नागबहाल, मंगलबजारलगायत क्षेत्रका छन्। न्यूनतम ६ इन्चदेखि ४२ इन्चसम्मका बुद्ध, तारा, कुवेर, लोकेश्वर, पद्यसम्वत, बज्रपान लगायतका मूर्तिहरू ४ हजारदेखि ५ लाख आईसीसम्ममा बिक्रीका लागि राखिएका छन्। यस्ता मूर्तिहरू भुटानीहरूले मन पराउने गरेको व्यावसायीहरू बताउँछन्।

नेपाल र भुटानको कला संस्कृति, धर्म, भाषा, रहनसहन, परम्परालगायत भौगोलिक अवस्थासमेत मिल्ने भएकाले पनि नेपाली कलाकृति झल्किएका हस्तकलाका सामग्रीहरू भुटानीहरूले मन पराउने गरेको मेलामा भेटिएका भुटानस्थित थिम्पुका छिरिङ शेर्पाले बताए। सन् २००९ देखि सुरु भएको भुटानको अन्तर्राष्ट्रिय व्यापार मेलामा पहिलो पटक २० वटा स्टल राखेर सहभागी जनाएको नेपालले ६ वर्षको अन्तरालमा झन्डै भारतको हाराहारीमा स्टल पुर्याउन सफल भएको छ।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष अजरमान जोशीले यो सम्पूर्ण उपलब्धि नेपालीहरूको कलाकृतिले गर्दा सम्भव भएको बताए। ‘भुटान चेम्बर अफ कमर्स र ललितपुर उद्योग वाणिज्यको संयुक्त प्रयासले गर्दा पनि एक हदसम्म सफल हो,’ उनले भने, ‘अब बिस्तारै बढाउँदै लैजाने लक्ष्य छ।’

मेलामा नेपाली हस्तकलाका सामग्री हेर्न अत्यधिक भिडभाड भए पनि मेलाको तेस्रो दिनसम्म बिक्री वितरणमा भने कम भएको मेलामा स्टल राखेका व्यवसायी ललितपुर हस्तकला संघका अध्यक्ष श्याम तन्डुकार भन्छन्, ‘भन्सार कर, बिक्री कर, ढुवानीलगायत खर्च प्रत्येक वर्ष वृद्धि हुँदै गएको छ। यसले हस्तकलाका सामग्रीको मूल्य पनि वृद्धि भएकाले बिक्री कम भएको छ।’

मेलामा आइतबारसम्म करिब हजारौं मानिसले अवलोकन गरिसके पनि बिक्री वितरण भने खासै नभएको अर्का हस्तकला व्यवसायी नमोबुद्ध ह्यान्डिक्राफ्टका सहायक प्रबन्धक अनिल महर्जन भन्छन्, ‘मेलामा आउने स्वदेशी तथा विदेशीहरू हेर्ने मोलतोल गर्ने र फर्कने गरेका छन्।’

उनका अनुसार सन् २००९ सम्म सम्पूर्ण कर मिनाहा थियो। पछि बिक्री कर र भन्सार कर १०/१० प्रतिशतसम्म लिँदासमेत मूर्तिको भाउ कम थियो र खरिदकर्ता पनि धेरै थिए। ‘तर अहिले बिक्री कर मात्रै ३५ देखि ४५ प्रतिशतसम्म लिने गरेकाले पनि मूर्तिको भाउ बढेको छ,’ उनले भने, ‘त्यसैले पनि किन्नेको संख्यामा कमी भएको हुन सक्छ।’

नेपालका व्यापार प्रवद्र्धक तथा निकासी केन्द्रका उपकार्यकारी निर्देशक तेजसिंह विष्टले यसपालिको मेलामा करिब १० करोडको नेपाली सामग्री भित्रिएको बताए। ‘भुटानको मार्केट पनि अलि सानो छ। माग भएको सामग्रीभन्दा बढी आपूर्ति भएकाले पनि अहिले व्यापार नभएको हुन सक्छ,’ उनले भने, ‘हस्तकलाका सामग्री (मूर्ति) का स्टल पनि यसपालि अलि बढी भएकाले पनि व्यापारमा कमी आएको हुन सक्छ।’

मेला भर्खर सुरु भएको र मेलामा आउने विदेशी तथा स्वदेशीहरू बिस्तारै बढ्ने क्रम जारी रहेको बताउँदै भुटान चेम्बर अफ कमर्सका अध्यक्ष फुब छिरिङले मेलाको अन्त्यसम्ममा भरपूर्ण व्यापार हुने विश्वास व्यक्त गरे। ‘नेपाल र भुटानबीच वाणिज्य सन्धि नहुँदा दुई देशबीच सहुलियत व्यापार विस्तारमा समस्या हुने गरेको छ,’ उनले भने, ‘चाँडै नै व्यापार सन्धिका लागि दुवै देशले पहल थाल्नुपर्छ।’

आइतबार भुटान चेम्बर अफ कमर्स र ललितपुर उद्योग वाणिज्य संघको संयुक्त संयोजनमा नेपाली र भुटानी पत्रकारहरूबीच दुई देशबीच व्यापार प्रवद्र्धनसम्बन्धी अन्तरक्रियासमेत भएको छ।

Source; Kantipur 5 Sept 2015

Leave a Reply

Your email address will not be published. Required fields are marked *