Bhutan News Network

News That Matters

DiplomacyPoliticsTop News

भुटानी शरणार्थीद्वारा राष्ट्रसंघ महासचिवलाई पत्र

UNSG Ban Ki Moon
UNSG Ban Ki Moon

भुटानी नेताहरूले तेस्रो मुलुक पुनःस्थापनापछि बाँकी रहेका शरणार्थीहरूलाई घर फिर्ताका लागि पहल गरिदिन राष्ट्रसंघका महासचिव बान कि मुनलाई पत्राचार गरेका छन् । शरणार्थी समस्या समाधानमा राष्ट्रसंघको चासो आवश्यक रहेको उनीहरूले उल्लेख गरेका छन् । विश्व शान्ति र मानवअधिकारको वकालत भइरहेको अवस्थामा शरणार्थी मामिला कता गयो भन्दै उनीहरूले यस्तो पहल अघि बढाएका हुन् ।

भुटानबाट खेदिएर भारत हुँदै पूर्वी नेपालमा बस्दै आएकामध्ये अधिकांश भुटानी घर र्फकन नपाएपछि पुनर्वासमा गएका छन् । यसमा मित्र मुलुकहरूले देखाएको सद्भाव महत्त्वपूर्ण रहेको भए पनि स्थायी रूपमा विदेशमा नरहने र अन्तिम लक्ष्य आफ्नै घर र्फकने उनीहरूको धारणा छ ।

नेताहरूले अहिले भुटानी शरणार्थीमाथि भइरहेका क्रियाकलाप अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको उल्लेख गरेका छन् । सन् १९९२ देखि घर र्फकन व्यग्र रहेका भुटानीहरूलाई भुटान सरकारले बेवास्ता गर्दा समस्या भएको र त्यसको वातावरण बनाइदिन उनीहरूले राष्ट्रसंघलाई पुनः आग्रह गरेका हुन् । भुटानी फिर्ता समितिका अध्यक्ष डा. भम्पा राई, बेलडाँगी शिविरका सचिव सन्चहाङ सुब्बा, शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले हस्ताक्षर गर्दै उक्त पत्र महासचिवलाई पठाएका हुन् ।

उनीहरूले उक्त पत्र प्रधानमन्त्री केपी ओली र अमेरिकी राजदूत एलैना वी तेप्लिजलाई पनि पठाएका छन् । उनीहरूले अहिले क्याम्पमा पनि सहयोग आवश्यक रहेको बताएका छन् । त्यहाँ सहयोग कटौती हुँदा समस्या रहेको विषयमा पनि उनीहरूले ध्यानाकर्षण गराएका छन् । पत्रमा आफूहरू बिनासर्त घर र्फकन पाउनुपर्नेमा समेत जोड दिइएको छ । ‘महासचिव बान बौद्ध सम्मेलनमा आउने जानकारी पाएदेखि नै यसरी पत्राचार गर्न खोजिएको थियो । मंगलबार हामीले पत्राचार गरेका हौं,’ भम्पा राईले कान्तिपुरसँग भने, ‘म आफूलाई भुटानमा राम्रै थियो । साथीभाइलाई साथ दिन नेपाल आएँ, तर सबैले छोडेर गएका छन् ।’

अब शिविरमा बाँकी रहेका र विदेशमा गएकालाई पनि भुटान फर्काउन पहल गर्नुपर्ने उनले बताए । १४/१५ हजार शरणार्थी मात्र बाँकी रहेका र परिवार तितरवितर भएको अवस्थालाई समेत ध्यान दिन उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *