Bhutan News Network

News That Matters

PoliticsTop News

भुटान पिपुल्स पार्टीको धिपधिपे दियो

BPPगोपाल गडतौला

झापा विर्तामोडस्थित एक घरको एउटा भाडाको कोठामा दिँउसो करिव एक दर्जन मानिस उपस्थित भएर ‘भुटान पिपुल्स पार्टी (बीपीपी)’ को स्थापना दिवस मनाए ।

त्यसक्रममा बीपीपीका वर्तमान अध्यक्ष बलराम पौडेलले डेढ दशकअघि हत्या भएका तात्कालीन अध्यक्ष आरके बुढाथोकीको तस्वीरमा फूल चढाए, त्यही कोठामा रहेको पार्टीको झण्डा अगाडि दियो बाले । आरको तस्वीरमा उनकी विधवा जसुदाले पनि फूल चढाएर सम्झिइन् बीपीपीका नेता एवम् आफ्ना पतिलाई ।

बीपीपी दक्षिण एशियाको एकमात्र राजतन्त्रात्मक मुलुक भुटानमा प्रजातन्त्र ल्याउने उद्देश्यसाथ २७ वर्षअघि स्थापना भएको थियो ।

स्थापना दिवसका अवसरमा झापामा शरणार्थी जीवन विताइरहेका अध्यक्ष पौडेलले पर्खाइको म्याद लम्बिए पनि भुटानमा प्रजातन्न्त्र आउने विश्वास व्यक्त गरे ।

बुढाथोकीले असिमित अधिकारसहितको भुटानी राजतन्त्रलाई संबैधानिक बनाउने र जनतालाई अधिकार सम्पन्न बनाउने उद्देश्यले स्थापना गरिएको बीपीपी अहिले झन कमजोर बनेको भन्दै थपे, “भुटानी आन्दोलन आन्तरिक र बाह्य कारणले शिथिल बनेको छ, तर भुटानमा परिवर्तन आउने कुरामा हामी आशावादी छौं ।”

सन् १९९२ को जुन २ मा भारतको सिलिगुढीमा बुढाथोकी, पौडेल, जागिरमान लामा, हरी सुवेदी र देवेन्द्र ढुंगेलसमेत ५ जना संस्थापक रहेर स्थापना गरेको सो पार्टीको आह्वानमा भुटानमा सन १९९० आसपासका वर्षमा हजारौं दक्षिणी भुटानी प्रजातन्त्र र मानवअधिकार आन्दोलनमा सरिक भएका थिए ।

ति मध्ये बुढाथोकीको २४ भदौ २०५८मा झापाको दमकमा बैठक चलिरहँदा खुकुरी प्रहारबाट हत्या भयो ।

संस्थापक महासचिव लामाले बीपीपी त्यागी सकेका छन् । सुबेदी हाल अमेरिकामा छन्, ढुंगेल भारतमा रहेर भुटानी आन्दोलनलाई साथ दिइरहेका छन् । पौडेल भने खिँइदै गएको बीपीपीको अध्यक्षमा पदासिन छन् ।

सन् १९९० ताकको आन्दोलनमा ब्यापक धरपकड र दमनसँगैसवालाख जति दक्षिणी भुटानीहरुलाई त्यहाँको सरकारले भुटानबाट खेदेको थियो । ती मध्ये एकलाख भुटानी नेपालमा शरण लिन पसेका थिए ।

नेपालमा शरणागत भुटानीमध्ये १ लाख २ हजार शरणार्थी पश्चिमी मुलुक गइसकेको अवस्थामा भुटानको प्रजातान्त्रिक आन्दोलन शिथिल बन्दै गएको छ ।

अब झापा र मोरङका शरणार्थी शिबिरमा १५ हजारजती भुटानी शरणार्थी मात्र बाँकी छन्, जसमध्ये दशहजार हाराहारी पुनर्वासको पक्रियामा छन् ।

HimalKhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *