जब देश खोज्नेहरु नै हराएपछि…
प्रकाश गुरागाई
घाम तल ओर्लिंदै छ । पृथ्वी नै पहेँलपुर देखिन्छ । कच्ची सडक पछ्याउँदै एक हुल साइकल बेतोड दौडिरहेका छन् । साइकल कुदाउने केही किशोर छन्, अरू अधिकांश २२–२५ का युवा र एकाध अधबैँसे । महिलाको संख्या न्यून छ । साइकल कुदाउनेहरू सडकछेउका बाँसका छाप्रा एक–एक गरी पार गरिरहेका छन् । जति छाप्रा पार हुँदै जान्छन्, उति साइकलको संख्या घट्दै जान्छ । ती साइकलको गन्तव्य नै जंगलबीचमा मुर्झाइरहेका छाप्रा हुन् ।
प्रकाश आङ्देम्बे निर्देशित फिल्म ‘देश खोज्दै जाँदा’ डुब्दै गरेको पहेँलो घामबाट सुरु हुन्छ । पहेँलो घामले भुटानी शरणार्थीको स्वदेश फर्किने आशा अस्ताउँदै गरेको संकेत गरेको छ । बेतोड हुइँकिरहेका साइकलको गन्तव्य दमकभन्दा झन्डै तीन किलोमिटरमाथिको बेलडाँगी शरणार्थी शिविर हो । बिहान कामको खोजीमा बस्ती पस्ने र बेलुका फर्किने उनीहरूको दैनिकी हो ।
अहिलेको बेलडाँगी शरणार्थी शिविर फिल्ममा देखाइएजस्तो छैन । न साइकलका हुल देखिन्छन्, न बाक्लै बाँसका छाप्रा नै । फाट्टफुट्ट साइकल टिङटिङ घन्टी बजाउँदै दगुर्छन् । ती साइकलयात्री पनि नेपाल छाड्ने तरखरमा कागजपत्र मिलाउने दौडधुपमा छन् ।
जतिवेला प्रकाश आङ्देम्बे फिल्म सुटिङमा थिए, त्यतिवेला बाक्लै छाप्रा थिए । शरणार्थी अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वेलगायत तेस्रो देश पुनर्वासमा जाने सपना देखिरहेका थिए । तर, डा. भम्पा राई र डिबी राईजस्ता शरणार्थी पनि थिए, जो आफ्नै देश फर्किन चाहन्थे । फिल्मको मूल कथा स्वदेश फर्किन चाहने र तेस्रो देश जान चाहने शरणार्थीबीचको द्वन्द्वमाथि बुनिएको छ । फिल्म त्यतिमा मात्रै भने सीमित छैन ।
डा. भम्पा र डिबी राई उदाहरण मात्र हुन् । फिल्ममा धेरै वास्तविक पात्रहरूको कथालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ । ती पात्र अहिले कोही युरोप वा अमेरिका पुगिसकेका छन् भने कोही बेलडाँगी आसपास नै भेटिन्छन् ।
‘देश खोज्दै जाँदा’ तेस्रो देश पुनर्वासमा जान नचाहने शरणार्थीको गतिविधिमा केन्द्रित छ । जान चाहनेहरूको गतिविधि भने प्रायः ‘अफ स्क्रिन’ छ । किनभने अमेरिका जान चाहने कुरा कसैले पनि खुला रूपमा राख्न सक्दैन । भुटानबाहेकका देश जाने कुरा गरे ऊ आन्दोलनकारीको आँखाको तारो हुन्छ । देशविरोधी ठहर्छ । बाहिर खुल्न नसके पनि भित्री रूपमा भने अधिकांश शरणार्थी अमेरिका जान चाहन्छन् । भित्रभित्रै पुनर्वासका लागि फारम भरिरहेका छन् ।
भुटान नै फिर्न पाउनुपर्ने आन्दोलनको नेतृत्व कारबारी काकाले गरेका छन् । उनी अधबैँसे पात्र हुन् । उनले युवालाई साथ लिएर कम्युनिस्ट पार्टी खोलेका छन् । जसमा वीरुजस्ता तातो रगतका युवा छन् । वीरु अमेरिका वा तेस्रो देश जान चाहने भुटानी शरणार्थीलाई शत्रु देख्छ । उसको समूह पुनर्वासका लागि फारम भरेकाहरूलाई आक्रमणको प्रयास गर्छ ।
तर, उसकै पार्टीका सदस्यलाई भुटान फर्किनेमा शंका छ । पार्टीको छलफलमा एक युवती कारबारीलाई प्रश्न गर्छे, ‘के हामी साँच्चै भुटान फर्किन पाउँला त ?’ कारबारी गम्भीर हुन्छन् । स्पष्ट जवाफ दिन सक्दैनन् । उनलाई पनि भुटान फर्किन पाउने आशा छैन । जसरी बेलडाँगी शिविरमा भेटिएका डिबी राईलाई भुटान फर्किन पाउने आशा छैन ।
००००००००००००००००००००००००००००००
डिबी राई २६ वर्षअघि नेपाल आएका थिए । उनलाई अर्को वर्षको दसैँ मनाउन भुटान नै पुगिन्छ भन्ने थियो । देश छाड्ने वेला नेताहरूले त्यही आश्वासन दिएका थिए । त्यसैले मादल घन्काएर नाच्दै घर छाडेर हिँडे । उनले बजाएको मादलुको घिन्ताङमा कम्मर भाँच्ने अल्लारे युवा धेरै थिए । केही पाकाहरू मात्र निन्याउरो अनुहारमा थिए ।
अर्को वर्षको दसैँ मनाउन भुटान फर्किने गरी देश छाडेका डिबी राईले २६ वटा दसैँ नेपालमै मनाइसके । तर, अझै भुटान फर्किन पाएका छैनन् । बरु संयुक्त राष्ट्र संघको तेस्रो देश पुनस्र्थापना कार्यक्रमका कारण उनको परिवार छिन्नभिन्न भयो । श्रीमती र छोरी अमेरिका पुगे । उनलाई भने जान मन भएन । बेलडाँगीको बाँसको छाप्रोभित्र उनी दुःख रुँगेर बसेका छन् । ‘अझै भुटान फर्किने आशा छ त ?’ यो प्रश्नले उनी ‘देश खोज्दै जाँदा’का कारबारी बाजेजस्तै टोलाए । अनि फिस्स हाँसे र भने, ‘आशा त छैन, मरे पनि नेपालकै माटोमा मर्छु भनेर यतै बसेँ, बुढी र छोरीलाई रोक्न सकिनँ ।’
००००००००००००००००००००००००००००००
२४ भदौ ०५८ । दमकस्थित एक घर । भुटान पिपुल्स पार्टीको बैठक बसिरहेको थियो । कोही व्यक्ति हातमा धारिलो खुकुरी बोकेर बैठक कोठामा घुस्यो । उसले पार्टी अध्यक्ष आरके बुढाथोकीको गर्धनमा नै खुकुरी बजा¥यो । बुढाथोकी रगतपच्छे भएर ढले । महासचिव बलराम पौडेलमाथि पनि आक्रमण प्रयास भयो । तर, अर्का पार्टी सदस्यले खुकुरी हान्नुअघि नै आक्रमणकारीको हातमा प्रहार गरे । खुकुरी भुइँमा खस्यो । आक्रमणकारी तत्कालै फरार भयो ।
बुढाथोकी र पौडेलको भुटान पिपुल्स पार्टी सबै शरणार्थीलाई स्वदेश फर्काउने आन्दोलनमा थियो । बुढाथोकीको हत्यापछि पार्टी उति सक्रिय हुन सकेन । बिस्तारै सदस्यहरू पनि लाखापाखा लाग्न थाले । यो घटना संयुक्त राष्ट्रसंघ शरणार्थीसम्बन्धी उच्चायुक्त (युएनएचसिआर)को कार्यालयले तेस्रो देश पुनर्वासको कार्यक्रम ल्याउनुअघिकै हो ।
बुढाथोकी र पौडेलमाथि जसरी आक्रमण भयो, उसैगरी फिल्ममा पनि आक्रमणमा पर्छन्, कारबारी काका र वीरु । कारबारी कसो–कसो उम्किन्छन् । तर, वीरुको हत्या हुन्छ । हत्यारा पत्ता लाग्दैन । वीरुको हत्यापछि बदलाको रापले पिल्सिएका कारबारीको मनोविज्ञानलाई फिल्ममा सुन्दर ढंगले देखाइएको छ । हत्याको रहस्य अन्त्यसम्मै छ ।
००००००००००००००००००००००००००००००
भक्त घिमिरे केही महिनाअघि मात्र अमेरिका उडे । अमेरिका उड्नुभन्दा एक वर्षअघिदेखि अचानक उनको बोली बन्द भयो । परिवारले डाक्टरलाई देखाए । तर, बोली आएन । कुनै गम्भीर बिरामी नभई अचानक बोली बन्द हुनु आश्चर्यको कुरो थियो । के भएर बोली बन्द भयो भन्ने रहस्यले शिविरलाई छपक्कै छोपेको थियो ।
बेलडाँगी शिविर छिर्नेबित्तिकै सशस्त्रको सुरक्षा बेसक्याम्प छ । बेसक्याम्पअगाडिको चोकबाट पुनर्वासमा जाने शरणार्थी आफन्त र इष्टमित्रसँग छुट्टिएर युएनएचसिआरको गाडी चढ्छन् । जब अन्तिम बिदाइ भएर गाडी चढ्छन्, कसैको पनि आँसु थामिँदैन । बिदाइ गर्ने र बिदाइ हुने भक्कानिएर रुन्छन् । त्यसैले सो ठाउँको नामै रुन्चे चोक राखियो ।
भक्त घिमिरे पनि अमेरिका जान रुन्चे चोक आइपुगे । बिदाइ भएर गाडी चढे । गाडी चढेपछि बल्ल बोली फुट्यो । आफन्त र साथी–भाइसँग बिदा मागेर उडे अमेरिका ।
भक्त पनि पुनर्वासको विरोधी थिए । उनी स्वदेश फर्किन चाहन्थे । तर, एकदिन उनको छाप्राबाहिर एउटा सूचना टाँसिएको थियो । सूचनामा उनलाई नै सम्बोधन गरिएको थियो । लेखिएको थियो, ‘आजदेखि एक शब्द बोलिस् भने तँलाई जिउँदो छाड्दैनौँ ।’
उनी ज्यान जोगाउन नै भुटान छाडेर हिँडेका थिए । ज्यान नै नरहे स्वदेश फर्किने पनि कसरी ? सो दिनदेखि उनले बोल्नै छाडिदिए । यो रहस्यको गाँठो उनले बस चढिसकेपछि प्रकाश आङ्देम्बेसँग मात्र खोले ।
आङ्देम्बेले भक्त घिमिरेको नियतिलाई पनि कारबारी काकामा नै हालिदिए । वीरुको हत्यापछि कारबारी काकाको घरमा एक शब्द बोले सिध्याइदिने धम्कीयुक्त सूचना टाँसिन्छ । त्यसपछि उनको बोली हराउँछ । परिवारका सदस्यसँग पनि बोल्दैनन् । बोल्न नसक्नुको पीडालाई निर्देशकले विम्बमा राम्रोसँग उतारेका छन् । जब कारबारी काका अमेरिका जाने हुन्छन्, त्यसले फिल्ममा ‘सस्पेन्स’ जन्माएको छ । त्यसो त ठेकेदारको हत्या र कारबारीको अमेरिका प्रस्थानबाट दर्शकलाई अनुमान गर्ने ठाउँ छाडिएको छ ।
बेलडाँगीका छाप्रो वर्षामा बेस्सरी चुहिन्छन् । भाँडा थापेर सुत्ने ओछ्यान त जोगाउँछन् । भुइँमा भने आहाल हुन्छ । उता जाडोमा शीत चुहिन्छ । ओढ्ने सिरक पनि भिजेर लछप्प हुन्छ ।
यस्तै दुःखबीच पनि शरणार्थीले सुखी हुन सिकेका छन् । शिविरका छाप्रामा चाडबाड आएपछि निकै रमाइलो हुन्छ । नाचगान चल्छ । तिहारमा देउसीभैलो खेलिन्छ ।
शिविरभन्दा बाहिरका गाउँलाई शरणार्थीहरू बस्ती भन्छन् । शिविरका युवाको बस्तीका युवतीसँग प्रेम हुन्छ । भागेर बिहे गर्छन् । तर, बस्तीका मान्छेले शरणार्थीलाई मन पराउँदैनन् । त्यसरी बिहे गरेको थाहा पाएपछि बस्तीका मान्छे युवतीलाई खोसेर लैजान हुल बाँधेरै आउँछन् । कुटपिटमा उत्रिन्छन् । आफ्नै देशबाट लखेटिएका उनीहरू अर्काको देशमा यसै निरीह हुन्छन् ।
फिल्ममा एउटा पात्र छ, हर्के । उसले बस्तीकी केटी भगाएर ल्याएको थियो । तर, बस्तीका मान्छेले खोसेर लगे । शरणार्थीले प्रतिवाद गरे पनि केही लागेन ।
केहीपछि युएनएचसिआरको पुनर्वास कार्यक्रम आयो । हर्के अमेरिका जाने भयो । बस्तीका मान्छे फेरि उसकी प्रेमिका लिएर छाप्रो आइपुगे । आफ्नी ‘श्रीमती’ जिम्मा लिनुपर्ने दबाब दिए । शरणार्थीले फेरि प्रतिवाद गरे । छोरी अमेरिका जान पाउने लोभले बस्तीका मान्छे यसरी आएका हुन् ।
००००००००००००००००००००००००००००००
निर्देशक प्रकाश आङ्देम्बेले फिल्ममा विम्बको निकै राम्रो प्रयोग गरेका छन् । सामान्य संवादमा पनि विम्बको प्रयोग छ । जस्तो कारबारी काका अमेरिका जान चाहँदैनन् । उनकी श्रीमती भने अमेरिका जानुपर्ने अडानमा छिन् । ‘ज्यानको मायाले देश छाडेर यहाँ आइयो, अमेरिकाचाहिँ किन जान नहुने ?’ खाना खाँदै गर्दा उनले दुखेसो पोख्छिन् । कारबारीलाई त्यति नै वेला भातमा ढुंगा लाग्छ । ऊ जुरुक्क उठेर जान्छ ।
कारबारी काकाकी छोरी शान्ति र वीरुको लभस्टोरीलाई पनि निर्देशकले सुन्दर ढंगले देखाएका छन् । प्रेम दर्शाउन कुनै संवादको प्रयोग गरिएको छैन । तर, प्रेमको गहिराइ बुझ्न सकिन्छ ।
वीरु चितामा भएको वेला शान्तिको गतिविधि भने अस्वाभाविक लाग्छ । उनी गलाको माला चुडाएर कपाल फुक्कै पारेर दगुर्छिन् । उनी प्रेमिका मात्र हुन् । शान्तिको मनोदशा देखाउन राखिएको सो दृश्यमा निर्देशक चुकेका छन् । अन्य केही विम्ब पनि ‘फिनिसिङ’ अभावमा अस्पष्ट लाग्छन् ।