भुटानी शिविरमा आगलागी
झापाको दमक नगरपालिका-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा शुक्रबार साँझ आगलागी भएको छ । आगलागीका कारण ८ वटा छाप्रामा क्षति पुगेको छ ।
आगोले तीनवटा छाप्रा जलेर नष्ट भएको छ भने अन्य ५ वटा छाप्रा भत्काइएको छ । भुटानी शरणार्थी दिलीप राईका अनुसार बमबहादुर गुरुङको बेलडाँगी-२ सेक्टर ई–वान हट नम्बर ५० र ५१ तथा विशाल गुरुङको हट नम्बर ६० को छाप्रा पूर्णरुपमा जलेर नष्ट भएको हो । राईका अनुसार आगो नियन्त्रणमा लिन नजिकैका अन्य ५ वटा छाप्रा भत्काउनु परेको हो ।
साँझ पौने ७ बजे आगलागी सुरु भएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट भएको क्षति तथा घटनाको पूर्ण विवरण लिने काम भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । आगो अहिले पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ ।