Bhutan News Network

News That Matters

Alternate Reading

शरणार्थीका रहर

राजु स्याङ्तान

सन् १९९० को दशकमा भुटानबाट लखेटिए नेपाली मूलका भुटानीहरू।उनीहरू त्यसपछि झापा र मोरङका विभिन्न स्थानमा आएर बस्न थाले। त्यहाँ बस्न थालेको २७ वर्ष बितिसकेको छ। सन् २००७ बाट संयुक्त राष्ट्रसंघको यूएनएचसीआरले तेस्रो मुलुक पुनर्बास गरेपछि बस्ती पूरै पातलियो। सवा लाख शरणार्थीमध्ये अधिकांश तेस्रो मुलुक पुगिसके। तर, अझै १० हजार शरणार्थीले शिविर छाडेका छैनन्।

हाल पुनर्बास कार्यक्रम रोकिएको छ। बाँकी हुनेहरू प्रायः भुटान नै फर्कन चाहन्छन्। लाखौंको बस्ती रहेको शरणार्थी क्याम्प सुनसानप्रायः छ। फाट्टफुट्ट देखिएका बाँसका टहरामा वृद्धवृद्धा मात्रै देखिन्छन्। युवाहरू मुस्किलले देख्न पाइन्छ।

भुटान फर्किने सपना मधुरो हुँदै गएको छ। तेस्रो मुलुक जाने सपना पनि विस्तारै मधुरो बन्दैछ। तर, बाँसका टहरामा बस्दै आएका शरणार्थी शिविरका युवाहरू भने रंगीन सपना देख्न छाड्दैनन्। उनीहरू शिविरमा नयाँनयाँ सपना सजाउँदै हुर्किंदैछन्।

बाँसको कटेरोमा सजिएका छन्, हजार सपना। शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा भेटिए यस्तै सपना सजाउने अनेक आँखा। प्लस टु पढ्दै गरेका उनीहरूलाई सपना देख्न नागरिकताले छेकेको छैन।

अमृता तामाङ २० वर्ष पुगिन्। उनी यही बाँसको कटेरोमा अनागरिक भएरै जन्मिइन्। आफू अनागरिक नभएको उनले निकै वर्षपछि मात्र थाहा पाइन्। स्कुल जान थालेपछि क्याम्प बाहिरका मानिसले विभेद गर्न थालेपछि मात्रै उनले आफू शरणार्थी भएको चाल पाइन्। उनी वाल्मीकि मेमोरियल हाइयर सेकेन्डरी स्कुल, पथरीमा कमर्स विषय लिएर कक्षा ११ पढ्दैछिन्। अमृताको सपना छ’ सिनेमाको कलाकार बन्ने। जुनसुकै हालतमा नाटक तथा सिनेमाको कलाकार बनिछाड्ने उनी बताउँछिन्। आफ्नो सपना पूरा गर्न उनी दृढ छिन्। भन्छिन्, ‘मलाई अभिनय एकदमै मन पर्छ। म कलाकार बन्न चाहन्छु।’

अमृतासँगै पढ्छिन् १८ वर्षीया पुनम तामाङ। निडर स्वभावकी पुनमलाई बैंकिङ क्षेत्र निकै मन पर्छ। उनको सपना छ— बैंक म्यानेजर बन्ने। दमक, पथरी र उर्लाबारीतिर पुग्दा बैंकको अगाडि एकछिन टक्क रोकिन्छिन्, अनि सपनालाई रिन्यु गर्दै फर्किन्छिन् शरणार्थी शिविरतिर।

१७ वर्षीया सिर्जना गुरुङको पनि छुट्टै सपना छ। उनी आफ्नो फ्युचर प्लान सुनाउँछिन्, ‘म त टिचर बन्ने।’ पुनमहरूसँगै पढ्दै आएकी उनलाई जब कक्षाकोठामा शिक्षक÷शिक्षिकाले पढाउँछन् तब कताकता हराउँछिन्। एक दिन आफू पनि त्यस्तै शिक्षिका बन्ने सपना मनभरि सजाउँछिन्। ‘तँ राम्री छेस्, मोडल बन्’, साथीहरूले बेलाबेला मोडल बन्न हौसला दिन्छन्।

भर्खर १६ वर्ष टेकेकी एलिना गुरुङ वाल्मीकि स्कुलमा कक्षा ८ मा पढ्छिन्। हँसिलो स्वभावकी एलिनाको भने अरूभन्दा भिन्न सपना छ। पर्यटकलाई बाटो देखाउँदै, फोटो खिच्दै हिँड्ने पेसा उनलाई एकदमै मन पर्छ। उनी भन्छिन्, ‘म त टुरिस्ट गाइट बन्ने।’

पुर्खाको पसिना बनेको माटो उतै भुटानतिर छुट्यो। त्यो माटोसँगै एउटा परिचय छुट्यो। माटो हरायो, देश हरायो। एलिनाले घुमाउने देश कुन होला रु कुन सहर होला उनले आफ्नो भन्दै चिनाउने रु प्रश्न अनुत्तरित छ।

१५ वर्षअघि बाँसको छाप्रोमा जन्मिइन्, अंकिता गुरुङ। कक्षा ७ पढ्दै गरेकी यी किशोरीको सपना छ— डान्सर बन्ने। दसैंतिहार आउँदा अंकिताको विशेष तयारी हुन्छ। मोबाइलमा डान्स हेर्दै उनी त्यसलाई अनुकरण गर्छिन्। रातदिन तयारी गरेर गाउँको स्टेजमा नृत्य प्रस्तुत गर्छिन्। पोहोर सालको हुटिङ उनको कलिलो मस्तिष्कमा ताजा छ।

सपना पूरा गर्न उनीहरू मेहनतपूर्वक पढिरहेका छन्। गाउँमा बिजुली छैन। यूएनएचसीआरले सोलार बत्ती दिएको छ। दिनभरि आङ सेक्किने घाम लागे पनि राति मधुरो बत्ती बल्छ। त्यही मधुरो बत्तीमुनि किताब असरल्ल छरेर पढ्छन् उनीहरू। परिवारमा थोरै खुसियाली छाएको बेला आफ्नो सपना आमा–बालाई सुटुक्क सुनाउँछन्। आमा–बा खुसी हुँदै सहमति जनाउँछन्।

उनीहरू प्रायः सबैका आफन्त तेस्रो मुलुक गइसके। कसैकी दिदी, कसैका दाजु, कसैका बाजेबज्यै, कसैका काका ठूलाबा गइसके। उनीहरू विविध कारणले छुटे। कसैका आमाबुवा बिरानो मुलुक नजाने भनेर ढिपि गर्दा छुटे। कोही क्याम्पमा यूएनएचसीआरले शरणार्थी दर्ता गर्दा देशमा विभिन्न स्थानमा मजदुरी गर्न पुगेका कारण छुटे। कोही भुटान फर्किने आशामा सात समुद्रपारि जानै मानेनन्।

उनीहरूसँग शरणार्थी जीवनका तीतामीठा अनुभूति छन्। सुरुमा अपहेलना गर्ने गाउँवासीले उनीहरू अमेरिका, क्यानडा जाने भएपछि आफ्ना दाइदिदीलाई प्रेमप्रस्ताव गर्नेको ओइरो लागेको बिर्सेका छैनन्। तेस्रो मुलुक जाने भएपछि स्कुल–कलेजमा उनीहरूले सकारात्मक व्यवहार पाए। भन्छन्, ‘बुवाआमाले गाउँलेबाट अझ धेरै अपमान भोग्नुभयो होला तर हामीले धेरै भोग्नु परेन। कहिलेकाहीँ चसक्क मन दुख्ने व्यवहार भने अझै भोग्नुपर्छ।’

तर २७ वर्षदेखि भोग्दै आएको हात्ती आतंक भने अहिलेसम्म समाधान भएको छैन। सिर्जना भन्छिन्, ‘कहिलेकाहीँ रातभरि सुत्न पाइँदैन। हात्तीले घर भत्काउँछ कि भनेर डराई डराई बस्छौं।’ हात्तीको डर भयानक भए पनि त्यो क्षणिक हुने गरेको छ। तर, अनागरिक हुनुको डर भने सधैं बोकिरहेका छन्।

उनीहरू बिहानै उठेर साइकलको पाइडल घुमाउँदै ट्युसन सेन्टर पुग्छन्। दिउँसो कलेज धाउँछन्। यसैगरी बित्दैछ उनीहरूको दैनिकी। अध्ययन सँगसँगै उनीहरू कसैले सिलाइबुनाइको तालिम सिकेका छन्। कसैले कम्प्युटर सिकेका छन्। अंकिताको योजना छ— अलि ठूली भएपछि उर्लाबारी पुगेर डान्स सिक्ने।

उनीहरूसँग सपना छ। त्यो सपना पूरा गर्र्ने जाँगर पनि छ। अभाव, भोक, अपमान सबै सहँदै रंगीन सपना सजाउँदै पढिरहेका छन्। तर, सपना पूरा गर्न प्रत्येक पाइलामा औपचारिकतापूर्वक एउटा कागज चाहिन्छ, त्यो हो नागरिकता।

कुनै पनि देशको नागरिक हुन सबैभन्दा पहिले नागरिकता हुनु अनिवार्य मानिन्छ। नागरिकता चिनारी र अधिकार हो नागरिकको। नागरिकताबिना केही पनि काम गर्न सकिन्न। ‘तपाईंहरूसँग नागरिकता छैन। नागरिकताबिना सपना पूरा हुन समस्या होला नि ‘ उनीहरू मौन देखिए। कोही बोलेनन्। प्रश्न निकै तीतो साबित भयो। सायद यो प्रश्न अस्वाभाविक र भावनामा चोट पुग्नेखाले थियो। जन्मँदै अनागरिक हुन विवश यी कलिला पुस्तासँग उत्तर छैन। उत्तर हुनेहरू मौन छन्। शिविरमा सपना देख्नेहरू पनि मौन देखिए।

Annapurna Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *