Bhutan News Network

News That Matters

Politics

श्यामार्पाको शब ल्याउन दिन भूटानी प्रधानमन्त्रीको पत्र

गुणराज लुइँटेल

‘विदेशीलाई नेपालमा ल्याएर यहाँ दाहसंस्कार गर्न दिने ठाउँ हामीकहाँ छैनः सरकार

श्यामार्पा लामा
श्यामार्पा लामा

हिमाली तथा तिब्बती परम्पराको कर्म कर्ग्युपा सम्प्रदायका १४ औं श्यामार्पा रिन्पोछेको पार्थिव शरीर समाधिका निम्ति नेपाल ल्याउन दिन भूटानी प्रधानमन्त्री छिरिङ टोप्गेेले कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमलाई पत्र लेखेका छन्।

विदेशीको शव नेपाल ल्याएर अन्तिम संस्कार गर्न नमिल्ने निर्णय नेपाल सरकारले गरिसकेका कारण यसमा पुनर्विचार गरिदिन उनले आग्रह गरेका हुन्। उनले आग्रह गरे पनि यस विषयमा सरकार उच्च अधिकारीहररूले हाम्रो कानुनले विदेशीको शब ल्याउन नदिने प्रष्ट पारिसकेका छन्।

‘विदेशीलाई नेपालमा ल्याएर यहाँ दाहसंस्कार गर्न दिने ठाउँ हामीकहाँ छैन,’ गृह सचिव सूर्य सिलवालले सेतोपाटीसँग भने, ‘यो हाम्रो परम्परा पनि होइन र कानुनले हामीलाई यसो गर्न अनुमति पनि दिँदैन।’

‘उनीहरूले माग्नु स्वाभाविक हो,’ सिलवालले अगाडि भने, ‘भोलि कुनै ठूला मुसलमानले नेपालमा आएर अन्तिम संस्कार गर्न चाहलान् वा कुनै पादरीको त्यस्तो ईच्छा होला, हामीले यसलाई धान्न सक्दैनौं।’

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार भूटानी प्रधानमन्त्री टोप्गेेको पत्र शुक्रबार आएको हो। शनिबार बिदा परेको हुनाले मन्त्रालयले यसलाई गृह मन्त्रालयमा पठाइसकेको छैन। ‘हामी सम्बन्धित निकायमा त्यो पत्र पठाइदिन्छौं,’ नाम उल्लेख गर्न नचाहने एक परराष्ट्र अधिकारीले भने।

सचिव सिलवालले भने त्यस्तो पत्र आफूकहाँ आइनपुगेको जानकारी दिए। ‘परराष्ट्र र गृह मन्त्रालयले यसमा व्यापक छलफल गरिसकेका छौं,’ उनले भने, ‘हाम्रो कुनै पनि कानुनले विदेशीलाई नेपालमा ल्याएर दाहसंस्कार गर्न अनुमति दिँदैन।’

‘भूटानी प्रधानमन्त्रीले हाम्रा कार्यवाहक प्रधानमन्त्रीलाई पत्र पठाएको हामीले थाहा पाएका छौं,’ बौद्ध परम्परा तथा हिमाली संस्कृतिका ज्ञाता एवं श्यार मिन्हुन इन्स्टिच्युटका सल्लाहकार डा. रमेश ढुंगेलले आइतबार सेतोपाटीलाई बताए।

‘तर, परराष्ट्र मन्त्रालयमार्फत् पठाइएको पत्र अझै कार्यवाहक प्रधानमन्त्रीलाई नपुगेको हुँदा हामी त्यसका निम्ति अनुरोध गर्न जाँदैछौं।’

श्यामार्पाले काठमाडौं रानीवनको फेदीमा स्थापना गरेको श्यार् मिन्हुन् इन्स्टिच्युटमा उनको समाधि राख्न आइतबार पार्थिव शरीर काठमाडौं ल्याउने दिन तय भएको थियो। परराष्ट्र अधिकारीका अनुसार नेपालमै बसोबास गर्दै आएको जानकारी दिँदै उनको पार्थिव शरीर ल्याउन दिन निवेदन दिएको थियो। यसै आधारमा ल्याउन दिन उसले गृह मन्त्रालयलाई पत्र पनि पठाएको थियो। तर, विदेशी नागरिक भन्ने थाहा पाएपछि सरकारले यसमा रोक लगाउने निर्णय गरेको थियो।

तिब्बती धार्मिक गुरु दलाइ लामाजत्तिकै सम्मानित र चीन, भारत, भुटान, नेपाल र युरोपेली मुलुकहरूमा व्यापक धार्मिक र शैक्षिक गतिविधि संचालन गर्दै आएका स्यामार्पा रिम्पोचेलाई आतेजाते गर्न सजिलो होस् भनी भूटानी राजाले मानार्थ नागरिकता दिएको ढुंगेलले जानकारी दिए। यसैका आधारमा विदेशीको शव ल्याउन नमिल्ने भन्दै निर्णय गरेपछि अप्ठ्यारो परेको डा. ढुंगेलले बताए।

जर्मनीमा रहेको बोधीपथ कर्ग्यु केन्द्र रिन्छेन उलमा जेठ २८ गते हृदयघातबाट श्यामार्पाको निधन भएको थियो। औतारी लामाहरूको पार्थिव शरीर आफ्ना विभिन्न केन्द्रहरूमा पुर्‍याएर दर्शनका निम्ति राख्ने चलन छ। त्यसैअनुसार अहिले भारतको कालिम्पोङबाट भूटानी राजदरबारमा आइतबार दर्शनका निम्ति पुर्‍याएर काठमाडौंमा ड्रूक एअरबाट उनको पार्थिव शरीर ल्याउने योजना थियो।

यो प्रक्रियामा सहयोग गरिदिन डा. ढुंगेलसहितको टोलीले कार्यवाहक प्रधानमन्त्री गौतमलाई समेत भेट गरिसकेको थियो। उनले यसलाई ‘हेर्छु’ भन्दै दिएका आश्वासनबाट ढुक्क हुँदै प्रतिनिधिमण्डलले प्रतिक्षा गरेको भए पनि निर्धारित मितिमा काम हुन नपाएपछि यो सम्प्रदायका व्यक्तिहरू चिन्तित हुन थालेका छन्।

डा. ढुंगेलका अनुसार, चीनको तिब्बतस्थित देर्गेमा सन् १९५२ मा जन्मेका श्यामर्पालाई ६ वर्षको उमेरमा अवतार भएको मान्यता दिइएको थियो। त्यसपछि उनलाई सिक्कमको रुमतेकस्थित कर्मकर्ग्यु गोम्पामा थप शिक्षादीक्षा भएको थियो। उनले बौद्ध शिक्षाबाहेक अमेरिकाको युनिभर्सिटी अर्फ क्यालिफोर्निया बर्कलेमा समेत अध्ययन गरेका थिए।

नेपालसँग श्यामर्पाहरूको मल्लकालदेखिकै सम्बन्ध भएको र यहाँ अनेकन गतिविधि गरेका कारण पनि उनको शब ल्याएर यहाँ समाधिमा राख्दा ठूलो अर्न्ताष्ट्रिय तीर्थ स्थलकै रुपमा देशले फाइदा उठाउन सक्ने डा. ढुंगेलले बताए। छैठौ श्यामर्पाले नेपालमा भ्रमण गरेको उल्लेख गर्दै ढुंगेलले आठौं स्यामर्पाको हेलम्बुमा अवतार भएको पत्ता लागेपछि प्रताप मल्लका पिता राजा लक्ष्मीनरसिंह मल्लले उनलाई हनुमान ढोकामा झिकाइ दर्शन गरेका थिए।

‘मेरो मुलुकमा यत्रो ठूलो लामा आउनु भएछ,’ भन्दै लक्ष्मीनरसिंहले हेलम्बुदेखि उनलाई बोकाएर काठमाडौं ल्याएका थिए। दर्शनपछि हनुमानढोकादेखि बोद्धसम्म हात्तीमा राखेर बाजागागासहित सिंदुरेजात्रा गर्दै उनलाई फर्काइएको इतिहास रहेको ढुंगेलले उल्लेख गरे।

उनको अन्तिम समाधि साउन १५ गते विहीबार गर्ने निर्णयअनुसार चार सयभन्दा बढी संसारभरिका उनका अनुयाहीहरूले काठमाडौंका होटल बुक गरिसकेकोमा अहिले आएर उनीहरू असमञ्जसमा परेको ढुंगेलले बताए। उनको समाधिले यहाँ वर्षेनी ५ देखि १० हजार तीर्थालुलाई ल्याउँने भएकोले पनि यो अवसर गुमाउन नहुने उनले बताए।

‘यो नेपालका निम्ति ठूलो अवसर हो’, उनले भने, ‘यसलाई हाम्रो सरकारले बुझ्नै खोजेन। यो घटनालाई एउटा सामान्य व्यक्तिको रुपमा मात्र लिएर निर्णय गर्नु हुँदैन।’

Setopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *