Bhutan News Network

News That Matters

CultureEducationTop News

अष्ट्रेलीयाको केन्समा धुमधामका साथ भानु जयन्ती

Bhanu Jayanti banner displaced in Cairns. Photo: Mansingh Rai
Bhanu Jayanti banner displaced in Cairns. Photo: Mansingh Rai

अष्ट्रेलीयाको केन्सका भूटानीहरूले जुलाई १८ तारिक शनिबारको दिन सामाजिक पर्वको रूपमा २०२औँ भानु जयन्ती मनाएका छन्। आदिकवि जस्ता विभूतिको जन्म जयन्ती पढेलेखेका वा सम्भ्रान्त वर्गले मात्र नभएर सिङ्गो समाजले व्यापक रूपमा मनाउनु पर्ने तर्क गर्दै पर्वको रूपमा भानु जयन्ती समारोह आयोजना गरिएको त्यहाँका आयोजकहरूले बताएका छन्।

प्राविधिक कारणबस निर्धारित भन्दा आधा घण्टा ढिला शुरू हुन पुगेको सो समारोह ढिलाईको लागि क्षमा याचना गर्दै सञ्चालक जीवन कोइरालाले राष्ट्रीय गीतबाट प्रारम्भ गरेका थिए। त्यस लगत्तै पण्डित नन्दुराम दाहालले स्वास्ती वाचन र क्विस्लैण्ड राज्य सरकारको समाज, महिला तथा युवा र बाल सुरक्षा तथा वहुल संस्कृति सरोकार मन्त्री माननीय श्यानन फेन्टीमेन ( Hon. Shannon Fentiman MP.) का विशेष प्रतिनिधि एवं केन्सका स्थानीय सांसद रब पायनले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको समुद्घाटन गरेका थिए। “यो राज्यको वहुलसंस्कृतिमा भूटानीहरूलाई पुनर्स्थापित गराएसँगै नौलो तर सुन्दर संस्कृतिलाई भित्र्याउन पाएकोमा यो क्विन्स्लैण्ड राज्य गर्व गर्दछ” कार्यक्रममा सम्बोधन गर्दै पायनले भने “तपाईँहरूले ल्याउनु भएको संस्कृतिले यो राज्यलाई अझ सुन्दर पारेकोछ”। उनले भूटानीहरूले केन्सको अर्थतन्त्रलाई टेवा पुर्याएको भनेर पनि आभार प्रकट गरे।

आयोजक संस्थाका अध्यक्ष तेजमान रायका मगरले दर्शक तथा श्रोतागणलाई कार्यक्रममा स्वागत गर्दै भानु जयन्ती अब उसो पढेलेखेका र साहित्यको ज्ञान भएकाहरूको मात्र समारोहको रूपमा सिमित पार्न नहुने जिकिर गरे। “विभिन्न भूगोलामा रहेका तमाम नेपालीलाई शव्द-शव्दले एउटै मालामा गाँस्ने आदिकवि हामी सबैको साझा विभूति हुन्। हामीलाई उनले लेखपढ गर्न, शिक्षार्जन गर्न र चेतनाको वृध्दिविकास गर्न उत्प्रेरित गरे। त्यसैले दशैँ-तिहार जस्तै यो जयन्ती व्यापक रूपमा मनाउनु पर्छ” -रायकाले भने। रायकाले पुनर्स्थापनासँगै विभिन्न देशमा विभिन्न भाषा सिक्नु पर्ने परिस्थितिको कारण भानु जयन्तीको महत्व अझ बढेको पनि प्रष्ट्याए।

आयोजकहरूले गत जुन महिनाको अन्तिम साता दुई दिवसीय सिर्जनात्मक लेखन कार्याशाला गोष्ठीको आयोजना गरेका थिए। सो कार्याशाला गोष्ठीका प्रशिक्षिका स्थानीय कवियीत्री क्रीष्टीन भर्ननलाई पारितोषिका प्रदान गर्दै अध्यक्ष तेजमान रायकाले विशेष धन्यवाद दिएका थिए। यसै गरी अध्यक्ष रायकाले जुलाई ९-११ मा अल्बेरीमा सम्पन्न भएको अन्तर राज्य फुटबल प्रतियोगितामा केन्सको पक्षमा शानदार विजय हासिल गरेको भन्दै केन्स भुटनीज फुटबल क्लबका खेलाडीहरूलाई प्रमाणपत्रसहित आभार र वधाई पनि प्रदान गरेका थिए।

अष्ट्रेलीयाको क्विन्सलैण्ड राज्य सरकारको आर्थिक सहयोगमा आयोजना गरिएको उक्त समारोह निक्कै लामो तयारी पछि आयोजना गरिको थियो। कार्यक्रममा भानुभक्तकृत रामायणमा आधारित नाटक मञ्चन गरिएको थियो। चर्चीत नाट्य कलाकार अङ्गमान राईदव्रा निर्मित सो नाटकको मञ्चनपछि दर्शकहरूले निक्कै प्रशंसा गरेका थिए। “म त त्यो नाटक हेर्नलाई नै भनेर आएकी थिएँ तर साङ्गोपाङ्गो कार्यक्रम नै अति राम्रो लाग्यो” कार्यक्रमको समापन पछि एकजना महिला दर्शकले निशुल्क वितरण गरिएको सेलरोटीको स्वाद लिँदै भनिन्। साथै सँगीनी, मारूनी र लोक तथा आधुनिक नृत्य र स्थानीय एवं अन्य देशमा रहेका भूटानी सर्जकहरूले पठाएका रचनाहरू प्रस्तुत गरिएका थिए भने रामायण वाचन प्रतियोगिता पनि प्रबन्ध गरिएको थियो। सम्युक्त राज्य अमेरिकाका घनश्याम रेग्मी, क्यानडाबाट रुपेश ढुङ्गाना र अष्ट्रेलीयाको सिड्नीबाट निमेष भण्डारी, अल्बेरीबाट दुर्गा रिमाल र एडिलेडबाट ईन्द्र अधिकारी र प्रकाश धमालाले आफ्ना रचना सम्प्रेषण गरेका थिए भने ती रचना स्थानीय साहित्यकार जगन पोख्रेल र जीवन कोईरालाले वाचन गरेका थिए। रामायण वाचन तर्फ हर्कधन मंगर, हेमलाल भणडारी र चन्द्रा मिश्र क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए।

केन्स भुटनीज कम्युनिटी आयोजक संस्था रहेको सो कार्यक्रमको खाका बनाउनमा सहयोग गरेकोमा नेपाली साहित्य परिषद भूटानप्रति आभार व्यक्त गरेकाछन् भने रचना पठाउने सर्जकहरूप्रति पनि आभारी रहेको बताएका छन्। आयोजकहरू विभिन्न देशमा रहेका स्रष्टाहरूद्वारा सम्प्रेषित रचनाहरू एउटै मञ्चबाट वाचन/प्रस्तुत गर्नाले भूटानी नेपाली साहित्यको हकमा नयाँ परम्पराको थालनी भएको दावी गरकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *