भुटानी शरणार्थी : देशले बोलाउने आस
दस वर्षअघि निर्देशक प्रकाश आङदेम्बेले प्रदर्शन गरेको भए दमकस्थित सानो सिनेमा हलमा फिल्म’देश खोज्दै जाँदा’ हेर्नेहरूको सायद भीडभाड हुन्थ्योे । तर, साउनको अन्तिम आइतबार आफ्नै कथामाथि बनेको फिल्म हेर्न आउने भुटानी शरणार्थीको संख्या औंलामा गन्न सकिने थियो । फिल्ममै अभिनय गरेका थुप्रै शरणार्थीले पनि तेस्रो देश पुनर्वासका लागि नेपाल छोडिसकेका छन् । आफ्नै देशबाट लखेटिएर देश खोजिरहेका भुटानी शरणार्थीको स्थिति यो दशकमा कस्तो भयो भन्ने अनुमान गर्न यही संख्या नै काफी थियो ।
विभिन्न चरणमा नेपालस्थित शरणार्थी शिविरमा रहेका एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक (अमेरिका, क्यानडा, अस्ट्रेलिया, डेनमार्क, नेदरल्यान्ड्स, न्युजिल्यान्ड) पुनर्वास भएपछि अहिले शिविर रित्तो देखिन्छ । कुनैबेला भीडभाड, घुइँचो हुने शिविरमा अहिले सन्नाटा छ । एक लाख २० हजार भुटानी शरणार्थीबाट घटेर अहिले यहाँ केवल १० हजारमात्र बाँकी छन् ।
एक दशकअघिसम्म लहरै उभिएका टहराहरू अब छैनन् । कहीँ कतैमात्र टहरा देखिन्छन् । खेदिएर आएका शरणार्थीले दु:खले हुर्काएका फूलका बोट पनि त्यहाँ छैनन् । छन् त केवल घा“स, काँडा र झारको झाडी । अनि,’यहाँ कुनैबेला मानिस पनि बस्थे’ भन्ने संकेत दिने पुराना खाँवा र मक्किसकेर जमिनमा सुतेका घरका दलिन । केराका घारी कतैकतै सप्रेकै छन् ।
मक्किएका टहराहरूको अवशेष, झाडी र शून्यपनको बीचमा प्रस्तर कला छोडेर गएका छन् शरणार्थीले । पानी बोकिरहेकी महिला, गिट्टी कुटिरहेको पुरुष, लेखिरहेको बालक, चर्खामा धागो उनिरहेकी बूढी बज्यै र आगो निभाउन बाल्टीबाट पानी फालिरहेको युवा- पत्थरका यी मूर्ति यो शिविरमा शरणार्थीले भोगेका सास्तीका दसी हुन् । सारा सास्ती र घर फर्किने सपना यतकतै छोडेर तेस्रो मुलुकमा गएका शरणार्थीका सन्तानको दु:ख आफ्नो ठाउँमा छ । त्योभन्दा ठूलो दु:ख र अनिश्चयको भुमरी त तिनीहरूको आँखामा छ, जो अझै पनि भुटान फर्किन पाउने आसमा यही जीर्ण शिविर कुरिबसेका छन्।
‘भुटान फर्किने आशामा छु, खै तर कहिले हो थाहा छैन,’ २६ वर्षदेखि नेपालमा शरणार्थी-जीवन बिताइरहेका भुटानी शरणार्थीमध्येका एक डा. भम्पा राईको शब्दमा त्यही अनिश्चित आशा भेटिन्छ । दिवंगत आमालाई सम्झेर उनी बेलाबेला भक्कानिन्छन्,’आमा, हामी एकदिन साँच्चै भुटान फर्किनेछौं ।’
यो अनिश्चित पर्खाइको कुनै टुंगो छैन । न त जीवन सहज नै छ ।
अभाव, अनिश्चय र असन्तोष खाँदिएर बसेको छ यो शिविरमा । फिल्म’देश खोज्दै जाँदा’मा एउटा दृश्य छ- बर्खायाममा पानी परेपछि टहराबाट चुहिएको पानी थालमा, बाल्टिनमा थापिरहेका छन्- कारबारी काका । कारबारी काकाको टहरोको भुइँपानीले हिलाम्मे भएको छ । कारबारी काकी चुहिएको पानी छल्न ओछ्यान मिलाउँदै छिन् र छोरी निरास भएर कतै शून्यमा आँखा बिछ्याइरहेकी छिन् । ठीक यस्तै छ शरणार्थी शिविरको वास्तविक दृश्य ।
झापा दमक पुग्दा सुरु भएको साउनेझरी तीन दिनपछि बेलडाँगी शरणार्थी शिविर पुग्दा बल्ल रोकियो । शरणार्थी शिविरमा बिस्तारै चहलपहल सुरु भयो । बिजुलीका पोल ढलेका थिए । हावाहुरीले भाँचिएका रूखले बाटो छेकिएको थियो । शिविरबाट बाहिर निस्केका साना नानीहरू पानीले पखालेर सिनित्त पारेको बाटो छेउछाउ खेलिरहेका थिए । सडक ओभानो थियो, शरणार्थी शिविर भने ओसिलो।
आँगन पानीमा डुबेको थियो । महिला-पुरुषहरू आँगनमा जमेको पानी फाल्ने प्रयास गरिरहेका थिए । उनीहरूको अवस्था विरक्तलाग्दो थियो । शिविर छेउको’यूएनको वल्र्ड फुड प्रोग्राम, १९९५’ कार्यालयको छेवैमा नि:शुल्क वितरणका लागि राखिएको’कण्डम’ बाकस पनि पानीले भिजेर लुत्रुक्क भएको थियो । सार्वजनिक स्थलमा नि:शुल्क वितरणका लागि राखिएको कण्डम बाकसले कुनैबेला यसको उपयोग अत्यधिक हुन्थ्यो भन्ने जनाउ दिए पनि मानिसको अनुपस्थितिले अब त्यो बाकसका प्रयोगकर्ता घटिसके भन्ने बताउँथ्यो ।
शिविरमा भेटिए ४९ वर्षे डीबी राई । २६ वर्षअघि दमक बेलडाँगीस्थित शिविरमा आइपुगेका थिए उनी । हामी पुग्दा टहरोको आँगनअघिको हिलो पन्छाउँदै थिए । उनी एक्लै बस्छन् यहाँ । श्रीमती र छोरीसहितको उनको सिंगो परिवार अहिले अमेरिकामा छ । उनलाई भने यहीँको माया छ ।
अमेरिका नजाने सोचमा छन् । भुटानीहरूले छोडेर गएका कलाकृतिको एउटा संग्रहालय छ । त्यही संग्रहालय रुँगेर बसेका छन् डीबी राई । लाग्छ, संग्रहालयमात्र होइन, सम्झनाहरू पनि रुँगेर बसेका छन् । भुटान चिराङबाट खेदिएको प्रसंग सुनाए उनले ।’देश निकाला भइयो, अरूलाई दु:ख लाग्यो । मलाई रमाइलो’, उनी भन्छन्,’कलिलै थिएँ ।
नयाँ सहर, बजार देख्दा रमाइलो अनुभूति भएको थियो ।’ तर, त्यो’रमाइलो’ केही दिनमै सकियो । भुटान छँदा फरेस्ट डिपार्टमा काम गर्थे । कमाइ ठीकै थियो । यहाँ आएर विश्व खाद्य संगठनले साप्ताहिक बाँड्ने चामलको लाइनमा उभिन थालेपछि सारा रमाइलो सकियो । जिन्दगी कतिसम्म फेरियो भने भुटानका हिन्दु उनी यहाँ आएर किराँत बने । शिविरमा त धर्म परिवर्तनको लहर नै फैलिएको सम्झन्छन् उनी ।’धेरै त क्रिश्चियन नै भए’, बताए उनले ।
भुटानमा जोङ्खा भाषा प्रयोगमा थियो । डीबी अफिसमा जोङ्खा र घरमा नेपाली बोल्थे । सरकारको नजरमा विद्रोही मानिएकालाई देश निकाला गरिएको थियो ।’विद्रोही’ नमानिएकालाई देश छोड्ने भए जायजेथाबापतको रकम उपलब्ध गराइन्थ्यो । छरछिमेकी’विद्रोही’को आरोपमा देश छोडाइएपछि डीबीलाई पनि बसिरहने परिस्थिति रहेन । घरमा भएका गाईगोरु, बाच्छाबाच्छीस्वरूप पाएको २१ हजार भारतीय रुपैयाँ लिएर नेपाल आएका थिए उनी । छोड्नै परेपछि मायामोह सबै छुट्दोरैछ । २६ वर्षअघि दिउँसो ३ बजेतिर घर छोड्दा ताला नलगाई हिँडेको थियो उनको परिवार ।
देश थियो र घर थियो । घर थियो र सम्पत्तिको मोह थियो । सम्पत्ति थियो र तालाचाबी थियो । सबै छोडेर आएपछि केवल हन्डर र ठक्करमात्र रहने रहेछ । शरणार्थी बनेपछि जिन्दगीले कति मोड लियो उनले अझै गन्न भ्याएका छैनन् । यी २६ वर्षमा सयौं हन्डर खेपे उनले । बस्न घरको अभाव, प्लास्टिकको छानो भएको टहरो- घामले पोल्ने, पानीले भिजाउने, शीतले ठिहिर्याउने, हुरीले उडाउने ।
त्यसमाथि जागिरको सास्ती । अर्काको देश । न आफन्त छन्, न उजुर गर्ने ठाउँ छ । धान काट्न मेलामा जाँदा पनि नेपाली कामदारले पाउनेको आधाभन्दा कम ज्यालामा चित्त बुझाउनुपथ्र्यो ।’१५ रुपैयाँमा पनि धान काट्ने काम गरेको छु,’ सम्झिए डीबीले । सुनसान शिविर र संग्रहालय रुँघेर बसेका डीबीसँग अब त घर फर्किने आस पनि मरिसकेछ । विरक्तलाग्दो स्वरमा भन्छन्,’अब भुटान फर्किने आशा पनि छैन । सायद अब श्रीमती र छोरीसँग यो जुनीमा भेट पनि हुँदैन ।’
शिविरमा केही एसएलएम सिकर छन् । यसको अर्थ हुन्छ- नेपाल पस्दा सिमानामा दर्ता नभएका भुटानी, जसलाई शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको कार्यालय (यूएनएचसीआर) ले पनि शरणार्थीको मान्यता दिएन । यस्तै एक पात्र हुन्- पूर्णसिंह साम्पाङ, जसको हामी शिविर पुग्नु दुइ दिनअघिमात्रै रूखले टहरोसहित किचेर मृत्यु भयो । साम्पाङका छोरी भने अमेरिकामा छिन् ।’पूर्णसिंह भुटान फर्किने आसमा शिविर कुरिरहेका थिए, बिचरा यहीँ सक्किए,’ डीबी भन्छन् ।
यूएनएचसीआरले शरणार्थीको मान्यता दिएन- भुटानी शरणार्थी मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने नेता टेकनाथ रिजाललाई पनि । रिजाल सन् १९८८ मा भुटानबाट नेपाल खेदिए ।’मेरो नाम शरणार्थीमा दर्ता छैन । यूएनएचसीआरले शरणार्थी मानेन्’, भुटान छँदा त्यहाँको राज्य सभा सदस्यसमेत रहेका टेकनाथ भन्छन् । उनका तीनैजना छोराहरू भने क्यानडा छन् । उनी बिर्तामोड बस्छन् ।’क्याम्प सुरु भएदेखि बसेकाको बाआमा गए, छोराछोरी छन् । कसैको आधा परिवार अमेरिका, आधा अस्ट्रेलियामा छन् । बोल्न नसक्नेहरू मात्र यहाँ बाँकी छन्’, रिजाल भन्छन्,’तेस्रो मुलुक पुनर्वास अभियानले परिवारै छिन्नभिन्न बनायो ।’
‘भुटान फिर्ती आन्दोलन दिनदिनै ओइलाएर जाँदैछ । भुटानभित्र गएर कसैलाई भेट्ने, बात गर्ने वातावरण छैन । भुटान आफैंले कान्छीआमाको व्यवहार देखाइरहेको छ । भुटानबाट खेदिएर अहिले पनि मानिसहरू नेपाल आइरहेका छन् । आफन्तहरू बिस्तारै बाहिर गइसके । भारतमा बसिरहेका भुटानीलाई पनि गोर्खाल्यान्ड आन्दोलनले गाह्रो भइरहेको छ । त्यसैले नेपाल पस्छन् । जेन्युन मान्छेका समस्या समाधान गरिदिए राम्रो हुन्थ्यो,’ रिजाल भन्छन् ।
रिजालको बुझाइमा शरणार्थी शिविरमा दुईखाले मान्छे छन् । एकथरी- भनिदिने, बोलिदिने मानिस नभएर बसेका । अर्कोथरी- यहाँ सीमित मात्रामा आए र तिनीहरूको परिवार भुटानभित्रै छन् । उनीहरू आफ्नै जन्मभूमिमा जान पाइएला भन्ने आसमा त बसे । तर, जानै पाएनन् ।
त्यसो त रिजालकै भुटान फिर्ता हुने आस मर्दै गएजस्तो देखिन्छ । भन्छन्,’जान पाउने चाहनाले बचाएको छ तर, आशा मर्दै गइरहेको छ । संसारमा परिर्वतन नै नहुने भन्ने त होइन । अवस्था हेर्दा आजको भोलि नै भुटान गइएला भन्ने ठाउँ रहेन । हामीसँग भुटानले वार्ता गर्दैन । नेपाल-भारतले पहल गरिदिए र भुटानले लगिदिए त तेस्रो मुलुक गएका मानिस पनि भुटानै फर्किन्छन् ।’
यसरी सुरु भयो शरणार्थी समस्या
तत्कालीन भुटानी राजा जाब्रुङ नावाङ नाम्ग्याल र तत्कालीन गोर्खाका राजा राम शाहबीच सन् १६२४ मा ताम्रपत्रमा हस्ताक्षर गरेर ४१ नेपाली परिवार भुटान लैजाने सम्झौता भएसँगै भुटानको दक्षिणी भूभागमा नेपालीभाषीको बसोबास सुरु भएको थियो ।
सो सम्झौतामा भुटान लगिएका नेपाली परिवारका सदस्यलाई अनिवार्य नागरिक बनाउने उल्लेख थियो जसमा सीप र दक्षता भएकालाई छनोट गरिएको थियो । समूहको नेतृत्व विष्णु थापामगरले गरेका थिए । उनीहरू महाभारत पर्वतको बाटो भएर भुटान पुगेका थिए । उनीहरूले कडा परि श्रम र मेहनत गरेर सुन्दर भुटान बनाए । रहँदाबस्दा भुटानमा नेपालीभाषीको संख्या उल्लेख्य हुँदै गयो । भुटानी श्रम व्यवस्थादेखि राजनीतिक संरचनासम्ममा नेपालीको उपस्थिति हुन थाल्यो । शरणार्थी नेता टेकनाथ रिजाल त भुटानी राजाको सल्लाहकारसम्म भएका थिए ।
सन् १९९० को पूर्वाद्धबाट भुटानी शासकको नेपालीभाषीप्रतिको व्यवहार फेरिन थाल्यो । भुटानी राजा जिग्मे सिग्मे वाङचुक र उनका दरबारिया दागो क्षिरिङले’एक भाषा, एक संस्कृति’ नीतिको नाममा जोङ्खा भाषा लाद्न सुरु गरे । नेपाली भाषा र संस्कृति प्रतिबन्धित भयो । नेपालीभाषाका पुस्तक र सांस्कृतिक भेषभूषाहरू जलाइयो । उक्त नीतिको विरोधमा भुटानको दक्षिणी भागमा बहुसंख्यामा बस्ने नेपालीभाषीले शान्तिपूर्ण आन्दोलन गरे ।
सैन्य बलको भरमा त्यो आन्दोलन दबाइयोे । आन्दोलन दमन गर्ने क्रममा हत्या, बलात्कार, मानसिक यातना आदि दिन थालियो । स्कुल, अस्पताललगायत सबै सामुदायिक सेवामा बन्देज लगाइयो । बन्दुकको आडमा नेपालीलाई स्वैच्छिक रूपमा देश छोडेको कागजमा हस्ताक्षर गर्न र हाँसेको तस्बिर खिच्न बाध्य पारियो । यसरी लखेटिएका नेपालीभाषी भुटानी भारतले शरण नदिएपछि नेपाल आए ।