देश खोज्दै भुटानी शरणार्थी
स्वदेशबाट लखेटिएर वर्षौंदेखि नेपालमा शरणार्थी जीवन बिताइरहेका भुटानीहरूको व्यथा तेस्रो मुलुकमा पुनर्बासको निर्णयले झनै बल्झियो । देश फिर्तीको आन्दोलनमा एक देखिएका भुटानीहरू अमेरिकालगायतमा पुनर्बासका कारण आफैंमा बाँडिए । जाने वा नजानेमा आफैंमा मत बाझियो । परिवार नै अलग्गिए पनि । यिनै कथाव्यथालाई समेटेर तयार पारिएको ‘देश खोज्दै जाँदा’ तीजको छेको पारेर बिहीबारदेखि नै प्रदर्शनमा आएको छ ।
प्रकाश आङदेम्बेले आफ्नै कथामा पहिलो पटक निर्देशनमा हात हालेको ‘देश खोज्दै जाँदा’ मा बाबु बोगटी, अरुणा कार्की, हेमन्त बुढाथोकी, मीना कोइराला, तिब्बत राई, ओबेत साम्पाङ राई, सरिता ओली, शिवशंकर थापालगायतको अभिनय छ । उपेन्द्र सुब्बाको पटकथा, सञ्जय लामाको छायांकन, मनोरञ्जन श्रेष्ठको सम्पादन रहेको छ । श्रवण मुकारुङका शब्दमा आभासको संगीत रहेको गीतलाई स्वरूपराज आचार्यले गाएका छन् ।
‘देश खोज्दै जाँदा’ सार्वजनिक प्रदर्शनीमा आउनुअघि विभिन्न फिल्म फेस्टिभलमा सहभागी भएको थियो । गत शनिबार मात्रै अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा आयोजित मस्टर्डसिड फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको थियो । यसअघि भारतको दादा साहेब लगायतका फिल्म फेस्टिभलहरूमा प्रशंसा बटुलेको थियो ।
‘देश खोज्दै जाँदा’ सहित यसै सातादेखि भुटानी शरणार्थीकै विषयमा बनेको अर्को फिल्म ‘हामी शरणार्थी’, कमेडी जानराको फिल्म ‘धुम २’ र ‘स्काउट’ फिल्म पनि रिलिज भएका छन् ।